कैलास दास । असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना, कुप्रवृत्तिको अन्त्य, कुसंस्कारको दहन, सामाजिक मर्यादाको संरक्षण र आगामी दिनमा शान्ति तथा सद्भाव कायम गर्ने सन्देशका साथ बडादसैँ मनाइन्छ । दसैँका नौ दिनसम्म शक्तिस्वरूपा भगवतीको पूजाआराधना गरिन्छ भने दशमीका दिन विजयको प्रतीकका रूपमा उत्सव मनाइन्छ । रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गलाई स्मरण गर्दै समाजमा सत्य, न्याय र सदाचारको स्थापना हुने अपेक्षा गरिन्छ ।
तर विडम्बना के छ भने हामी इतिहास सम्झन्छौँ, रामको आदर्शको चर्चा गर्छौँ र रावणको पुतला जलाउँछौँ । तथापि, आफ्नै मन र व्यवहारभित्र लुकेका रावणी प्रवृत्तिलाई समाप्त गर्न सकिरहेका छैनौँ । हरेक वर्ष रावणको पुतला दहन गरिरहँदा पनि समाजमा हिंसा, अन्याय, शोषण र अपराधका घटना दोहोरिइरहनु हाम्रो सामाजिक चेतनामाथिको गम्भीर प्रश्न हो ।
यस वर्षको बडादसैँ अवधिमा मधेश प्रदेशका विभिन्न जिल्लामा हत्या, बलात्कार, यौन दुव्र्यवहार, जातीय विभेद र घरेलु हिंसालगायतका घटना सार्वजनिक भए । इन्सेक मधेश प्रदेश कार्यालयमा अभिलेख गरिएका घटनाले पर्वको उल्लाससँगै समाजको अर्को पीडादायी यथार्थ पनि उजागर गरेका छन् । जब मानिसहरू मन्दिर, शक्तिपीठ र सार्वजनिक स्थलमा भेला भएर दसैँ मनाइरहेका थिए, त्यही बेला कतिपय महिला तथा बालिका हिंसा र शोषणको सिकार भइरहेका थिए । कतिपय परिवारले आफ्ना प्रियजन गुमाएका थिए भने पीडितहरू न्यायको प्रतीक्षामा थिए ।
असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते पूर्णिमासम्मको अवधिमा धनुषा, सर्लाही, सप्तरी र महोत्तरीलगायत जिल्लामा यस्ता घटना अभिलेख भएका हुन् । धनुषाको धनौजी गाउँपालिका(३ मा १६ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा उजुरी परेको थियो। धनुषा(महोत्तरी सडकखण्डमा दुई बालिकामाथि यौन दुव्र्यवहार तथा अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएको घटना पनि सार्वजनिक भयो। नगराइन नगरपालिका(७ की १७ वर्षीया बालिका झिँझिया नाच हेर्न गएकी थिइन्। उनी कात्तिक १ गते सोही नगरपालिकाको वडा नम्बर ६ स्थित पोखरीमा मृत फेला परिन्।
धनुषाकै मिथिला बिहारी नगरपालिका(३ मिथिलेश्वर मौवाहीमा रीना देवी यादव घाँटी रेटिएको अवस्थामा मृत फेला परिन्। उनका पति उमेश यादव पनि सोही दिन मृत भेटिए। सर्लाहीको हरिपुर्वा नगरपालिका(३ धनकौलकी सरीता कुमारी साहले दाइजोको निहुँमा कुटपिट गरिएको भन्दै उजुरी दिइन्। रोजगारीको प्रलोभनमा १६ वर्षीया बालिकालाई भारत पु¥याएको आरोपमा पनि उजुरी परेको थियो। त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका(६ मा १३ वर्षीया मौसम कुमारी राउत घाँटी रेटिएको अवस्थामा मृत फेला परिन्।
सप्तरीमा दुर्गापूजाको मूर्ति विसर्जनपछि घर फर्कँदै गरेकी २५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी परेको थियो। महोत्तरीको रामगोपालपुरमा जातीय विभेद गरी कुटपिट गरिएको आरोपसमेत सार्वजनिक भयो। यी घटना प्रतिनिधिमूलक मात्र हुन्। अभिलेखमा नसमेटिएका वा सार्वजनिक हुन नसकेका अन्य घटना पनि हुन सक्छन्। यसले हाम्रो समाजमा महिला तथा बालिकाको सुरक्षा, जातीय समानता र मानवीय मर्यादाको अवस्था कति चुनौतीपूर्ण छ भन्ने प्रश्न उठाउँछ।
यहाँ दुईवटा महत्त्वपूर्ण सन्दर्भ जोडिन्छन(धार्मिक चेतना र राजनीतिक जवाफदेहिता।
पहिलो, धार्मिक चेतना। धर्मलाई पूजाआराधना, कर्मकाण्ड र मनोरञ्जनमा मात्र सीमित राखेर हुँदैन। धर्मको सार मानवीयता, करुणा, सत्य, न्याय, आत्मसंयम र परोपकारमा निहित हुन्छ। यदि धार्मिक अनुष्ठानले मानिसलाई अरूको पीडा बुझ्न, महिलाको सम्मान गर्न, कमजोरको संरक्षण गर्न र अन्यायविरुद्ध उभिन प्रेरित गर्दैन भने त्यसको सामाजिक उद्देश्य अधुरो रहन्छ।
हामी रावणलाई किन जलाउँछौँ? रामलाई किन आदर्श मान्छौँ? भगवती दुर्गाको आराधना किन गर्छौँ? यी प्रश्नको उत्तर केवल धार्मिक परम्परामा खोजेर पुग्दैन। तिनको मर्मलाई आफ्नो जीवन र व्यवहारमा उतार्नुपर्छ। शक्ति स्वरूपा देवीको पूजा गर्ने समाजमा महिलामाथि हिंसा हुनु, मर्यादा पुरुषोत्तम रामको आदर्श स्मरण गर्ने समाजमा बालिकाहरू असुरक्षित रहनु र समानताको कुरा गर्ने समाजमा जातीय विभेद कायम रहनु गम्भीर विरोधाभास हो।
धर्मको नाममा लाखौँ रुपैयाँ खर्च गर्ने तर धार्मिक मूल्य र मान्यतालाई व्यवहारमा आत्मसात् नगर्ने प्रवृत्तिले समाजलाई सही दिशामा लैजान सक्दैन। साँचो अर्थमा रावण दहन त्यतिबेला सार्थक हुन्छ, जब हामीभित्रको अहंकार, हिंसात्मक सोच, महिलालाई कमजोर ठान्ने मानसिकता, जातीय विभेद र अन्याय गर्ने प्रवृत्तिको अन्त्य हुन्छ।
दोस्रो, राजनीतिक जवाफदेहिता। २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले सुशासन, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र न्यायको मागलाई प्रमुखताका साथ उठाएको थियो। आन्दोलनले राज्य सञ्चालनको शैलीमाथि गम्भीर प्रश्न खडा गरेको थियो। त्यसपछि बनेको सरकारले जनतामा सुशासन र न्यायको अनुभूति गराउने अपेक्षा स्वाभाविक हो।
तर समाजमा हिंसा, हत्या, बलात्कार, जातीय विभेद र घरेलु हिंसाका घटना भइरहँदा राज्यका निकायको जिम्मेवारी अझ बढ्छ। अपराधका घटनामा निष्पक्ष अनुसन्धान, पीडितको सुरक्षा, शीघ्र न्याय र दोषीलाई कानुनअनुसार कारबाही सुनिश्चित गर्नु राज्यको दायित्व हो। अपराध नियन्त्रणका लागि प्रहरी प्रशासनको सक्रियता मात्र पर्याप्त हुँदैन; न्याय प्रणालीको प्रभावकारिता, सामाजिक चेतना, विद्यालयस्तरको नैतिक शिक्षा र समुदायको सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ।
जनताले परिवर्तनको अपेक्षा गर्नु स्वाभाविक हो। तर परिवर्तनको अनुभूति नाराले होइन, नागरिकको दैनिक जीवनमा देखिने परिणामले निर्धारण गर्छ। महिलाले सुरक्षित महसुस गर्नु, बालबालिकाले निर्भय भएर हिँड्न पाउनु, दलित समुदायले सम्मानपूर्वक बाँच्न पाउनु र पीडितले समयमै न्याय पाउनु नै सुशासनका आधारभूत सूचक हुन्।
राज्य र राजनीतिक नेतृत्वले जनताको अपेक्षालाई बेवास्ता गर्दै जाने हो भने असन्तुष्टि बढ्न सक्छ। नेपालमा मात्र होइन, फ्रान्स, इटाली, स्पेन र ब्राजिललगायत देशका विभिन्न आन्दोलनले पनि नागरिकका अपेक्षा, राज्यको जवाफदेहिता र सामाजिक असन्तुष्टिबीचको सम्बन्धलाई उजागर गरेका छन्। यद्यपि, ती देशको राजनीतिक र सामाजिक परिस्थिति नेपालभन्दा फरक छन्। त्यसैले त्यहाँका आन्दोलनसँग सीधा तुलना गर्नुभन्दा तिनबाट राज्यले नागरिकका आवाज समयमै सुन्नुपर्ने पाठ लिनु उपयुक्त हुन्छ।
अन्ततः बडादसैँ केवल उत्सव र परम्पराको निरन्तरता होइन, आत्मसमीक्षा गर्ने अवसर पनि हो। रावणको पुतला जलाएर मात्र समाजका विकृति समाप्त हुँदैनन्। त्यसका लागि घरपरिवारदेखि विद्यालय, समाज, धार्मिक संस्था र राज्यका निकायसम्म सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ।
हामीले हरेक वर्ष रावण जलाउँछौँ, तर के आफ्नै व्यवहारभित्रको रावणलाई चिन्न सकेका छौँ? जबसम्म हिंसात्मक मानसिकता, जातीय विभेद, महिलामाथिको अत्याचार र अन्यायप्रतिको मौनता कायम रहन्छ, तबसम्म रावण दहनको सन्देश अधुरै रहनेछ। त्यसैले अब प्रश्न रावणको पुतला कहिले जलाउने भन्ने होइन, समाजभित्र मौलाएका विकृति, विसङ्गति र अन्यायको अन्त्य कहिले गर्ने भन्ने हो। यही प्रश्नको उत्तर खोज्नु नै बडादसैँको वास्तविक सन्देश हो।



