कैलास दास
विभिन्न समयमा परिवर्तनका लागि भएको आन्दोलनमा सञ्चारमाध्यमहरुको महत्वपूर्ण भूमिका रह्यो, किन भने देश र जनतासंग प्रत्यक्ष जोडिएको घटना र जानकारीलाई लिपिवद्ध गरी जनताकै बिचमा पु¥याउने विश्वासिलो माध्यम पत्रकारिता नै हो । पत्रकारिताको कर्म गरिरहदा एउटा पत्रकारले हरेक परिस्थितिमा समाचार लेख्नुपर्ने हुन्छ ।
पत्रकारिता मूलतः जवाफदेहिता, जिम्मेबारी, उत्तरदायित्व तथा मर्यादा बोकेको पेशा हो । यही भएर यसलाई राज्यको चौथो अंगको रुपमा मर्यादा प्राप्त भएको छ । तथ्य र सत्यमा आधारित पेशाको रुपमा रहेको पत्रकारिता आस्था, विश्वास, प्रतिवद्धता र पूर्ण जिम्मेबारी बोकेको पेशाको रुपमा मात्रै नभई जिम्मेवारी बोकेकाहरुलाई जिम्मेबार बनाउन घच्घचयाउने पेशाको रुपमा पनि परिचित छ । समाजमा हुने विकृति विसंगति, अन्याय र विभेदलाई पत्रकारिताको माध्यमबाट सार्वजनिक गरी ती समस्याहरुलाई सच्याउने र समाधानको भूमिका खेल्नुका साथसाथै समाजमा उदाहरणीय काम गर्ने मानिसलाई प्रोत्साहित गर्ने कामपनि पत्रकारिताले गर्दै आएको हो ।
मधेश प्रदेश सरकारले यो प्रदेशलाई सञ्चारमैत्री प्रदेशको रुपमा चिन्हाउनका लागि सञ्चार ऐन ल्याइयो । सञ्चार ऐन अन्तरगत नै यहाँ मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरणको कार्यालय सञ्चालनमा छ । यो सञ्चार क्षेत्रका लागि सुखद पक्ष हो । तर महिनैपिच्छे राजनीतिक उथलपुथल र सरकार फेरबदलका कारण सञ्चारमाध्यमहरुको समस्या र चुनौती समाधान हुनुपर्नेमा जटिलतामा फस्दै गएको अनुभूति गर्न सकिन्छ । मुलुकमा संघीयता आएपछि सञ्चारको पनि तिव्रगतिमा विकास नभएको होइन, तर टिक्न गाह्रो भएको छ ।
मधेश प्रदेशमा पत्रपत्रिकाको तथ्यांकलाई हेर्दा एकहजार बढी दर्ता छ । समुदायिक एवं निजी रेडियो एफएमको संख्या एकसय आठ वटा र टेलिभिजिनको संख्या १२ वटा दर्ता रहेको तथ्याक छ । जहाँसम्म सञ्चालनको कुरा हो भने रेडिया एफएम २४ वटा बन्द भई सक्यो, अरुको बन्द हुने अवस्था छ । अधिकांश सञ्चारमाध्यमहरुको ‘रिन्युवल’ हुन सकेको छैन ।
सञ्चार क्षेत्रलाई जीवन्त राख्न राज्यको दायित्व हुन्छ र त्यसका लागि सञ्चारमैत्री बजेटको व्यवस्थापन गरिनुपर्छ । तर सरकारको सञ्चार क्षेत्रमा उद्देश्य पवित्र हुँदा पनि नियत राम्रो देखिएन । नियत राम्रो भएको भए सञ्चारमैत्री बजेटको पनि व्यवस्थापन गर्नु पर्दथ्यो । प्रदेशको सञ्चार ऐन त्रृटि र सञ्चारमैत्री बजेटको व्यवस्थापन हुन नसक्दा मिडियाहरुको अवस्था दिनहुँ दयनिय हुँदै गएको हो । यसरी हेर्दा वर्तमानमा संघ, प्रदेश र स्थानीय तहका सरकारले पनि सञ्चारमाध्यमहरुलाई उपेक्षित गरिएको भन्न सकिन्छ । किन भने तीन तहको सरकार भएपछि झण्डै सञ्चार जगतको अवस्था बलियो हुनुपर्नेमा सरकारको विभिन्न निकायहरुको सकारात्मक वा नाकारात्मक समाचारको प्रभाव पर्नुपर्नेमा त्यसो नपर्ने गरेको देखिन्छ ।
अर्को कुरा सञ्चारमाध्यमहरुलाई टिकाई राख्न विज्ञापन मूल स्रोत हुन्छ । तर ‘पालिका’हरु वा अन्य सरकारी निकायका विज्ञापन प्रकाशन वापत कर्मचारीहरुले खुलेआम रुपमा कमिशन माग्ने गर्छन, कमिशन दिने सञ्चारमाध्यमलाई विज्ञापन मात्र उपलब्ध गराउने गर्छन र कमिशन नदिनेलाई विज्ञापन दिंदैन । यति मात्र होइन मधेश प्रदेशका करीब ६० प्रतिशत विज्ञापनहरु काठमाडौंबाट सञ्चालित मिडियाहरुमा जाने गरेको छ । कम्तिमा मधेश प्रदेश सरकार र स्थानीय तहमा उत्पादन हुने विज्ञापन प्रदेशकै सञ्चार माध्यमहरुलाई उपलब्ध गराउनु पर्छ र विज्ञापन वापत माँग्ने कमिशनको अन्त्य हुनुपर्छ ।
पत्रकारले पत्रकारिता गरिरहँदा उसले सामना गर्नुपर्ने चुनौतीपनि अथाह छ । पटक–पटक सुरक्षा निकाय र कहिलेकाँही जनताबाटै समेत कुटिनु पर्ने, डर, र धाकधम्कीको सामना गर्नुपर्ने र अपमानित हुनुपर्ने परिस्थिति प्रायः हरेक पत्रकारको जीवनमा आएकै हुन्छ । कहिले आफ्नै लेखन त्रुटी र कहिले सही लेख्दा समेत यस्तो परिस्थितिको सामना पत्रकारले गर्नुपरेको छ । प्राय शक्तिको अहम्ले मात्तिएको पक्षबाट पत्रकार पीडित हुनुपरेको छ ।
पत्रकारहरुले आफूले काम गरेको सञ्चार माध्यमबाट समेत समाचार लेखन वापत पाईने पारिश्रमिक समयमा नपाईँदा विल्लीबाँठको अवस्थामा पुग्ने गरेका छन् । सवारी साधनमा तेल हाल्नेदेखि मोबाईल र ईन्टरनेटको विल तिर्न धौ धौ पर्ने अवस्था मोफसलमा कामगर्ने प्रायः हरेक पत्रकारको साझा भोगाई हो ।
केही कमी–कमजोरी भने पत्रकारमा समेत नभएको होईन । अदक्षता र समाचारको अपुष्टताले समेत पत्रकारको गरिमामाथि बेला—बेलामा आँच आउने गरेको तितो यथार्थ पनि छ । पत्रकारिताको सामान्य र आधारभूत ज्ञान र प्रशिक्षणको अभावमा बेखबर भएर गरिने पत्रकारिताले वेला—वेलामा पत्रकारमाथि नै संकट ल्याउने गरेकोपनि यथार्थ नै छ ।
कतिपय स्थानमा सत्यता नै नबुझी समाचार लेखिदिने, असत्य समाचार समेत कपी पेष्ट गरिदिने, एकपक्षीय समाचार लेखिदिने, राजनितिक तथा प्रशासनिक दवाव र प्रभावमा परेर समाचार लेखिदिने र दलगत पत्रकारिता जस्ता कार्यले पत्रकारिताको ‘विश्वसनीयता, सत्यता तथा सन्तुलनमाथि वेलावेलामा प्रश्न उठ्ने गरेको छ ।
यस्तो जिम्मेवारपूर्ण पत्रकारितालाई अझै विश्वसनीय तथा मर्यादित बनाउनकालागि आचारसंहिताको आवश्यकता रहन्छ । विश्वका लोकतान्त्रिका मुलुकमा प्रेस स्वतन्त्रताका साथै पत्रकार आचारसंहिता पनि एकै साथ रहेको पाईन्छ । पत्रकारले आफ्नो पेशामा रहँदा के के काम कर्तव्य निभाउनु पर्छ अर्थात के गर्नु हुन्छ र के के गर्नु हुँदैन भन्ने कुराको स्पष्ट उल्लेख नै पत्रकार आचारसंहिता हो । मिडिया काउन्सिलले आचारसंहिता ल्याइएको छ ।
पत्रकार आचारसंहिता भन्नाले पत्रकारले पत्रकारिता कर्मका क्रममा पालना गर्नु पर्ने नियमलाई बुझिन्छ । समाज रुपान्तरणको सम्म हैसियत राख्ने अनि विचार प्रवाहका माध्यमले व्यक्ति व्यक्तिमा जागरण पैदा गर्ने हैसियत राख्ने पत्रकारितालाई अझै जनजनमा विश्वसनीय बनाउनका लागि यसमा लागेकाहरुले आचारसंहिताको पालना मार्फत आफ्नो पेशाको मर्यादालाई अझ उच्च तुल्याउन जरुरी हुन्छ ।
पत्रकारितामा यति धेरै चुनौती र समस्या हँुदाहँुदैपनि अवसर भने नभएको होईन । देशमा जस्तोसुकै विषम परिस्थिति आउँदा त्यही पत्रकारले देश रक्षाको लागि कलम चलाउने भएकोले अनेक आलोचना तथा समस्याहरु समेतका बावजूद पत्रकारिताप्रति जनताको भरोसा र सम्मान भने अझै कायम छ ।
कैलास दास मिडिया काउन्सिलको पूर्व अध्यक्ष हुन ।

