जनकपुरधाम १९ जेठ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय उपाध्यक्ष उमेश साहले लामो संघर्ष र बलिदानपछि स्थापित नेपालको लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि ताकत वा शक्तिले उल्टाउन नसक्ने दाबी गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्व. गिरिजा प्रसाद कोइराला, राजेन्द्र महतोलगायतका तस्बिरहरू पोस्ट गर्दै लेख्नु भएको छ, “हो मनिषा कोइराला र केही कांग्रेसी नेताहरू, प्रजातन्त्रमा पटक–पटक मन्त्री बनेका कमल थापा, अनि अनिल कपुरको नायक फिल्म हेरेर बिना कुनै योगदान र भूमिका नेपालमा अराजक राजनीति गर्न खोज्ने बीबीसीका पूर्व पत्रकार रविन्द्र मिश्र तथा दुर्गा प्रसाईहरू! लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देश आर्थिक समृद्धितर्फ अघि बढिरहेको छ। तर तीन ठूला दलका नैतिक–अनैतिक रूपले सत्ता आरोहणमा लिप्त ‘डेट एक्सपायर’ नेताहरूको असफलताका कारण जनमानसमा असन्तुष्टि र आक्रोश बढ्नु स्वाभाविक हो। यद्यपि यस व्यवस्थाको विकल्पमा पुरानै निरंकुश राजतन्त्रको कल्पना गर्नु आजको युगमा सम्भव छैन। विद्यमान समस्याहरूको समाधान र समग्र राष्ट्रिय हितका लागि जबसम्म जनताले निर्वाचनमार्फत वैकल्पिक शक्ति चयन गर्दैनन्, तबसम्म मुलुकको समृद्धि सम्भव छैन।”
उपाध्यक्ष साहले केही नेताहरू लोकतान्त्रिक गणतन्त्रमा फाइदा लिँदै आएका तर अहिले राजतन्त्रको वकालत नगरेको देखिए पनि उनीहरूको चरित्रमाथि विश्वास गर्न नसकिने अवस्था सिर्जना भएको स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ।

