जनकपुरधाम, १९ जेठ – मधेश प्रदेश सरकारले आउँदो असार दोस्रो साता दुई दिवसीय 'राष्ट्रिय शिक्षा सम्मेलन' गर्ने भएको छ।
शिक्षा तथा संस्कृति मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै असार १० र ११ गतेसम्म सम्मेलन आयोजना गरिने जानकारी दिएको हो। सम्मेलनको उद्देश्य प्रदेश तथा राष्ट्रको शिक्षा प्रणालीलाई यथार्थपरक, समावेशी र भविष्यमुखी बनाउने नयाँ बहसको सुरुआत गर्नु रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
शिक्षामन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलनमा भनिन्, “शिक्षा क्षेत्रमा नीति निर्माण, योजना, कार्यान्वयन र समन्वयको नयाँ परिप्रेक्ष्य तयार पार्नुका साथै प्रदेश र स्थानीय तहका यथार्थ, चुनौती र सम्भावनालाई आधार बनाएर सुधारका मार्ग पहिल्याउने यो सम्मेलनको उद्देश्य हो।”
उहाँका अनुसार सम्मेलनमा शिक्षा क्षेत्रमा सक्रिय सरकारी निकाय, दातृ संस्था, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, शैक्षिक संस्था, नागरिक समाजका प्रतिनिधि र शिक्षाविद्हरूलाई एउटै साझा मञ्चमा ल्याइनेछ।
शिक्षामन्त्री तिवारीले सम्मेलनको मूल उद्देश्य प्रदेशलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती, अवसर र उत्कृष्ट अभ्यासहरूबारे गहिरो छलफल गर्नु र सहकार्यमा आधारित नवप्रवर्तनशील रणनीति निर्माण गर्नु रहेको बताउनुभयो।
मन्त्रालयले शिक्षा सम्मेलनका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको छ। सम्मेलनमा समेटिने प्रमुख विषयहरूमा शिक्षण–सिकाइमा नवप्रवर्तन, शिक्षा नीति र शासन प्रणाली, समावेशी र न्यायसंगत शिक्षा, डिजिटल रुपान्तरण, समुदाय संलग्नता, शिक्षा सम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित अभ्यास, मधेश प्रदेशका चुनौती र अवसर, स्रोत परिचालन र शिक्षाको दिगोपन समेटिनेछ।
सम्मेलनमा सातवटै प्रदेशका शिक्षामन्त्री तथा सचिवहरू, संघीय सरकारअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिहरू, संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरू, विश्वविद्यालय, अनुसन्धान संस्था, शिक्षा विज्ञ, शिक्षक संघ, विद्यार्थी संगठन, नागरिक समाज, सञ्चारकर्मी तथा विकास साझेदारहरूको सहभागिता रहने शिक्षामन्त्री तिवारीले जानकारी दिनुभयो।

