चन्देश्वर सदा
ऐतिहासिक कारण
नेपालको समाज लामो समयदेखि वर्णव्यवस्थामा आधारित रहँदै आएको छ। यो संरचनाले दलित समुदायलाई “अस्पृश्य“को रूपमा वर्गीकृत गरी सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक दृष्टिले तल्लो दर्जामा राखेको छ। उनीहरूको धर्म, संस्कार, पेशा, बासस्थान आदिमा विभेद हुँदै आएको इतिहासले आज पनि धेरै ठाउँमा प्रभाव जमाइरहेको छ।
सांस्कृतिक तथा मानसिक सोच
धेरै मानिसहरू अझै पनि जातीय अहंकार र सामाजिक पूर्वाग्रहमा बाँचेका छन्। दलितसँग छोएको पानी नपिउने, उनीहरूलाई मन्दिर प्रवेश गर्न नदिने, छुनु अपवित्र ठान्नेजस्ता सोच व्यापक रूपमा विद्यमान छ। यस्तो मानसिकता परिवर्तन नहुँदासम्म सामाजिक न्याय असम्भवजस्तै देखिन्छ।
शिक्षाको अभाव
दलित समुदायमा साक्षरताको दर अपेक्षाकृत कम छ। शिक्षा नपाउँदा उनीहरूले आफ्ना अधिकार नबुझ्ने, अवसर प्राप्त नगर्ने, तथा आत्मविश्वासको कमी भोग्नुपर्ने अवस्था रहन्छ।
आर्थिक शोषण
अधिकांश दलितहरू भूमिहीन, अस्थायी तथा अनौपचारिक मजदुरीमा आधारित छन्। उनीहरूलाई कम ज्याला, अनिश्चित रोजगारी र ऋणको दलदलमा राखी शोषण गरिन्छ। आर्थिक आत्मनिर्भरता अभावले उनीहरूको अवस्था झनै कमजोर बनाउँछ।
राजनीतिक उपेक्षा
राजनीतिक निर्णय प्रक्रियामा दलितहरूको सहभागिता न्यून छ। उनीहरूको आवाज नीतिनिर्माण तहमा पुग्दैन, जसका कारण उनीहरूको समस्या निरन्तर उपेक्षित रहन्छ।
यस्ता घटनाहरू रोक्न दलित समुदायले अपनाउनु पर्ने ठोस पहल
१. शिक्षा र सचेतना अभिवृद्धि
साक्षरतामा ध्यान दिँदै दलित समुदायले महिलाहरू र बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्छ। मानवअधिकार, संविधान, कानुनी अधिकारसम्बन्धी प्रशिक्षण र सचेतना अभियान सञ्चालन गर्नुपर्छ।
२. संगठित आन्दोलन र दबाब
छरिएर नभई संगठित ढंगले विभेद र अन्यायको विरोध गर्नु जरुरी छ। दलित संगठन, सिविल सोसाइटी र सञ्चारमाध्यमसँग सहकार्य गर्दै दबाब सिर्जना गर्नुपर्छ।
३. विधिक उपचार खोज्नु
जातीय विभेद, अपमान वा हिंसाको शिकार हुँदा कानुनी सहायता लिनु आवश्यक छ। स्थानीयस्तरमा कानुनी सहायता केन्द्रको स्थापना र निःशुल्क कानुनी सहयोग सुनिश्चित गर्नुपर्छ।
४. सञ्चार माध्यमको उपयोग
सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन आदिको उपयोग गरेर दलितमाथिका घटनाहरू सार्वजनिक गर्न, जनमत निर्माण गर्न, र सचेतना फैलाउन सकिन्छ।
५. एकता र आन्तरिक सुधार
दलित समुदायभित्रको जात÷उपजातीय विभाजन अन्त्य गरेर एकता कायम गर्नुपर्छ। आन्तरिक रूपमा लैंगिक समानता, नेतृत्व विकास र शिक्षाको प्रवद्र्धन गर्नुपर्छ।
यस्ता घटनाहरू रोक्न राज्यले उठाउनु पर्ने उचित कदम
१. कडा कानुनी कार्यान्वयन
नेपालको संविधानअनुसार जातीय विभेद आपराधिक कार्य हो। तर व्यवहारमा कानुनको कार्यान्वयन कमजोर छ। प्रहरीले तुरुन्त कारबाही गर्नुपर्ने, दोषीलाई कडा सजाय दिनुपर्ने आवश्यक छ।
२. शिक्षा र पाठ्यक्रममा समावेशीकरण
विद्यालयदेखि विश्वविद्यालयसम्म जातीय समानता, मानव अधिकार र विविधताको सम्मानसम्बन्धी विषय पाठ्यक्रममा समावेश गरिनुपर्छ। यसले सामाजिक सोचमा परिवर्तन ल्याउन सहयोग पु¥याउँछ।
३. समान अवसर नीति लागू
दलितहरूलाई रोजगारी, सेवा सुविधा र नेतृत्वका क्षेत्रमा प्रतिनिधित्व दिलाउन कोटा प्रणालीलाई प्रभावकारी बनाउनु जरुरी छ। सीपमूलक तालिम, ऋण सहायता र रोजगारीका अवसर उपलब्ध गराउनु आवश्यक छ।
४. स्थानीय सरकारलाई जिम्मेवार बनाउने
स्थानीय तहमा दलित मुद्दा सम्बोधनका लागि विशेष इकाइ गठन गर्नुपर्छ। दलित प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिनुपर्छ।
५. सुरक्षा ग्यारेन्टी
दुर्गम र ग्रामीण क्षेत्रमा दलितहरूमाथि आक्रमण हुने क्रम बढिरहेको छ। यस्तो अवस्थालाई नियन्त्रण गर्न प्रहरी सुरक्षा, पीडितको संरक्षण र मानसिक परामर्श सेवाहरू उपलब्ध गराइनुपर्छ।
६. निगरानी संयन्त्र निर्माण
जातीय विभेद र दलितमाथिको हिंसा अनुगमन गर्न स्वतन्त्र आयोगहरूलाई अधिकारसहित सशक्त बनाइनुपर्छ। राष्ट्रिय दलित आयोग, मानवअधिकार आयोग आदिको भूमिकालाई सक्रिय र प्रभावकारी बनाउनुपर्छ।
निष्कर्ष
दलितमाथि हुने विभेद, शोषण र हिंसा केवल दलितहरूको होइन, सम्पूर्ण नेपाली समाजको चुनौती हो। सामाजिक समानता र न्यायको सुनिश्चितता बिना देशको समृद्धि सम्भव छैन। त्यसैले दलित समुदाय र राज्य दुबै पक्षले साझा पहल गर्दै यो समस्याको समाधानमा जुट्न आवश्यक छ।



