जनकपुरधाम, २७ जेठ । राजर्षि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मेहनत, विश्वास र सक्रियताले कसैलाई पनि सफलता प्राप्त गर्नबाट रोक्न नसक्ने स्पष्ट पार्नुभएको छ।
मंगलवार आयोजित राजर्षि विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एउटै विद्यामा सबै दक्ष वा प्रवीण हुँदैनन्। विद्यार्थीहरूमा रुचिअनुसार प्रतिभा विकास हुन्छ। त्यसैले अभिभावकहरूले बालबालिकालाई रुचि विपरीत विषय रोज्न दबाब दिनु हुँदैन।“ उहाँले मधेशका विद्यार्थीहरूको प्रतिभाले आफू निकै प्रफुल्लित भएको समेत बताउनुभयो।
प्रधानमन्त्री ओलीले जनकपुरधामको ऐतिहासिक र सांस्कृतिक महत्व उल्लेख गर्दै भन्नुभयो, “जनकपुरधाम परापूर्वकालदेखि नै ज्ञानभूमि, ज्योतिभूमि र धर्मभूमिका रूपमा परिचित रहिआएको छ। यहाँका विद्यार्थीहरूले देशविदेशमा यही ज्ञान र ज्योतिलाई उजागर गर्नेछन् भन्ने मलाई विश्वास छ।“
उहाँले थप भन्नुभयो, “जब संसार अन्धकारमा डुबेको थियो, त्यतिबेला यो भूमि ज्ञान, ज्योति र धर्मको केन्द्रको रूपमा चिनिएको थियो। यो भूमि विज्ञान र दर्शनसँग गहिरो रूपमा जोडिएको छ। हाम्रा पूर्वजहरूले यहाँ अनुसन्धान र ज्ञानको खोजी गरेका थिए। त्यसैले आजका विद्यार्थीहरूले पनि विश्वमा आफ्नो पहिचान बनाउनेछन् भन्ने मेरो दृढ विश्वास छ।“
पूर्वीय र पश्चिमी सभ्यताको उदाहरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले विज्ञानमै विश्वास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “हामी अन्धविश्वासमा होइन, विज्ञानमा विश्वास गर्ने हो। सफलता एकैचोटि ठूलो रूपमा आउँदैन, सानासाना सफलताबाटै प्रारम्भ हुन्छ। त्यसैले निरन्तर प्रयास र लगनशीलता जरुरी छ,“ उहाँले भन्नुभयो।
प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले विश्व विद्यालयबाट दीक्षित भएका विद्यार्थीहरूले समाज परिवर्तनका लागि काम गर्ने आशा व्यक्त गर्नुभयो ।
विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. अमर प्रसाद यादवले विश्व विद्यालयले विश्वमा प्रतिस्पर्धा गर्ने किसिमको जनशक्ति उत्पादन गरेको बताउँदै अहिले देशका सम्बन्धन प्राप्त तथा आङ्गिक कजेज मार्फत करिब २ हजार ८ सय विद्यार्थीहरूलाई विभिन्न विषयमा अध्ययन अध्यापन गराइरहेको बताउनुभयो ।
राजर्षि जनक विश्व विद्यालयको स्वास्थ्य विज्ञान संकाय, व्यवस्थापन संकाय, विज्ञान, प्रविधि तथा इन्जिनियरिङ संकाय र मानविकी कानून संकायका गरेर १ सय १४ जना स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरू सो अवसरमा दीक्षित हुनुभएको छ ।
दीक्षान्त समारोहमा स्वास्थ्य विज्ञान, व्यवस्थापन, तथा विज्ञान, प्रविधि र इन्जिनियरिङ्ग संकायका १० जना विद्यार्थीले प्रमाणपत्रसहित उपाधि प्राप्त गरेका छन्। तिनीहरूमध्ये ८ जना छात्रा र २ जना छात्र रहेका छन्।
उपाधि प्राप्त गर्नेहरूमा प्रिया कर्ण, दीक्षा कुमारी मण्डल, ज्योति चौधरी, रश्मी कुमारी, काजल रौनियार, आरती मण्डल, रुपेश ठाकुर, पंकज यादव र रानी कुमारी साह रहेका छन्।
मधेशकी छोरीहरू शिक्षामा अग्रसर : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशकी छोरीहरू कुनै पनि क्षेत्रमा कमजोर नरहेको बताउनुभएको छ। राजर्षि विश्व विद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विश्वविद्यालयको पाठ्यक्रमअन्तर्गत विभिन्न विषयको टपर सूचीमा १० मध्ये ८ जना छात्रा छन्। यो कुरा मधेश प्रदेशको गौरवको विषय हो।”
मुख्यमन्त्री सिंहले मधेश प्रदेशको शिक्षास्तरमा क्रमिक रूपमा सुधार भइरहेको उल्लेख गर्नुभयो। अहिले प्रदेशका ८ मध्ये ७ जिल्ला (बारा बाहेक) साक्षर जिल्लाका रूपमा घोषणा भइसकेका छन्।
उहाँले थप भन्नुभयो, “शिक्षामा संघीय, प्रदेश र स्थानीय सरकार सबै गम्भीर हुनुपर्छ। गुणस्तरीय र सर्वसुलभ शिक्षा सुनिश्चित गर्न हरेक तहले आफ्नो भूमिकामा सक्रियता देखाउनुपर्ने आवश्यकता छ ।”

