बारा, ४ असार । बाराको कलैया उपमहानगरपालिका–१४ का ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँकी ३८ वर्षीया रन्जु जैसवाल र उनका छोराहरू २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय किशोर छन् । जेठ २० गते साँझ पुरानो रिसइबीका कारण कुटपिटबाट घाइते भएका राउतको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको थियो ।
घटनामा संलग्न २८ वर्षीय दिगम्बर साह कलवारलाई प्रहरीले घटनाको दिनमै नियन्त्रणमा लिएको थियो । फरार रन्जुलाई कलैया–५ बाट र उनका छोराहरूलाई वीरगंज–१ शान्ति टोलबाट पक्राउ गरिएको हो ।
उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

