जनकपुरधाम, ७ असार । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ग्राण्ड कम्प्युटर एण्ड ल्याङ्ग्वेज सेन्टर जनकपुरधामले कविर बाल वात्सल्य अनाथ आश्रममा खाद्य सामग्री र शैक्षिक सामग्री वितरण गरेको छ ।
सेन्टरका सञ्चालक प्रमोद कुमार पण्डितका अनुसार विद्यार्थीहरूको सहयोगमा खाना पकाउने ग्यास सिलिन्डर, आलु, प्याज, चिनी, बिस्कुटलगायतका खद्यान्न तथा कापी–किताब प्रदान गरिएको हो । “योग दिवसको सन्देश भनेको स्वास्थ्य र अनुशासन हो, हामीले त्यही सन्देशका साथ केही सहयोग गर्ने प्रयास गरेका हौं,” सञ्चालक पण्डितले बताए ।
उनका अनुसार कम्प्युटर सेन्टरमा अध्ययनरत विद्यार्थीहरूबाट संकलित सामग्रीले आश्रममा बसोबास गरिरहेका बालबालिकाको स्वास्थ्य र अध्ययनमा केही राहत मिलोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । “थोरै भए पनि हाम्रो तर्फबाट गरिएको यो सहयोगले उनीहरूलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौं,” उनले थपे ।
कविर बाल वात्सल्य अनाथ आश्रममा हाल डेढ दर्जन बालबालिका रहेका छन् । उनीहरूको आवास, पोषण र शिक्षाको व्यवस्थापन आश्रमकै पहलमा हुँदै आएको छ । आश्रमका एक प्रतिनिधिले बालबालिकाको हितमा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै समाजका अन्य संस्था तथा व्यक्तिहरूलाई पनि यस्तै सहयोगी भावना प्रकट गर्न आग्रह गरे ।
कार्यक्रममार्फत योग दिवसको सामाजिक महत्व झल्काउने प्रयास गरिएको आयोजकको भनाइ छ । सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमले विद्यार्थीतर्फ पनि सेवा भाव र मानवीयता जगाउने विश्वास आयोजकले लिएका छन् ।

