जनकपुरधाम २१ असार। देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा मधेश प्रदेशसहित विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेको छ, जसका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ भने मधेश प्रदेशका थोरै स्थानहरूमा पनि यस्तै प्रकारको वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्नेछ ।
मौसम सम्बन्धी थप सतर्कता र सावधानी अपनाउन महाशाखाले सबै नागरिकलाई अनुरोध गरेको छ ।

