जनकपुरधाम, २५ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटन घटनाका जीवित साक्षी गौरीशंकर रामको भौतिक सुरक्षाप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित असार २५ गतेको विज्ञप्तिमा ४३ वर्षीय रामको सुरक्षा अहिले टड्कारो विषय बनेको उल्लेख गरिएको छ। बमकाण्डमा गम्भीर घाइते भएका राम हाल काठमाडौँमा छन्।
उक्त घटनामा दुई जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका थिए। घाइतेमध्ये केहीलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोपसहित पूर्वमन्त्री एवं सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले २०७६ असोज १९ गते गिरफ्तार गरेको थियो। जिल्ला अदालत, रौतहटले २०८१ वैशाख १३ गते आलमलाई जन्मकैदको फैसला सुनाएको थियो।
अदालतले फैसला सुनाउँदा गौरीशंकर रामको स्वास्थ्य प्रतिवेदन र बयानलाई महत्वपूर्ण प्रमाणका रूपमा लिएको थियो। सोही आधारमा अदालतले सरकारलाई रामको सुरक्षा सुनिश्चित गर्न आदेश पनि दिएको थियो।
तर, जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले २०८२ जेठ १४ गते जिल्ला अदालतको फैसला उल्ट्याउँदै आरोपितहरूलाई सफाइ दिएपछि रामले आफ्नो सुरक्षामा थप खतरा महसुस गरेको बताएका छन्। त्यसपछि उनी काठमाडौँ आएर आश्रय लिएका छन्।
इन्सेकको विज्ञप्तिमा रामको जीवन जोखिममा रहेको भन्दै नेपाल सरकारलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न तत्काल पहल गर्न माग गरिएको छ।

