सिरहा, २६ असार । करीब १५ वर्षअगाडि, वि.सं. २०६७ को असार महिना । एक रात लहान–१३ स्थित पक्की टोलमा डाँकाहरूको एक समूहले गाउँलाई आतंकित बनायो—ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै । त्यो रात गाउँको चेतना झकझक्याउने रात बन्यो । ती त्रासदीपूर्ण घटनाका प्रत्यक्ष साक्षी अस्मिन राउत सम्झन्छन्, “त्यो साँझ मात्र होइन, थुप्रै यस्ता रातहरू हामीले बिताएका छौँ—भयमा, आशंकामा ।”
डकैतीको श्रृंखलाले गाउँमा भयको साया फैलिएको थियो । प्रहरी बोलाउँदा पनि सहायता समयमै पुग्दैनथ्यो । डाँकाहरू लहान बजारको प्रहरी आउनुअगावै भागिसक्थे । तर, त्यो एक रातको घटनाले गाउँको चेतना झस्कायो, युवाहरू जागे । गाउँको सुरक्षाका लागि आवाज उठ्यो । “त्यसपछि हामी तत्कालीन गृहमन्त्री भीम रावलसमक्ष गयौँ, गाउँको अवस्था राख्यौँ,” राउत भन्छन्, “स्थानीयको दबाबपछि पक्की टोलमा अस्थायी प्रहरी चौकी स्थापना भयो र त्यसपछि कहिल्यै डकैतको त्रासले सताएको छैन ।”
यस चौकीले लहान–१३, १४ र २४ नं वडा क्षेत्रलाई समेट्दै गाउँमा स्थायीत्व ल्यायो । बालबालिका खुलेर खेल्न थाले, महिलाहरू खेतबारी जान थाले, र गाउँमा पुनः आत्मविश्वास फर्कियो । यद्यपि चौकी अस्थायी र जीर्ण थियो—बर्खामा चुहिने, हिउँदमा धुलाम्मे हुने । त्यसपछि गाउँलेहरू जुटे, नयाँ प्रहरी भवन बनाउने अभियान सुरु भयो ।
विदेशमा रहेका गाउँलेदेखि स्थानीयसम्मले खुलेर सहयोग गरे । चन्दा संकलन भयो, श्रमदान भयो । यसै सामूहिक प्रयासबाट निर्माण भयो—पाँच कोठे पक्की प्रहरी भवन, जुन बुधबार लहान नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेश प्रहरी प्रमुख, डीआईजी उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा उद्घाटन गरे।
गाउँको यो परिवर्तन देख्दा ७४ वर्षीया लक्ष्मीदेवी अधिकारी भावुक हुँदै भन्छिन्, “एक समय यस्तो थियो, रातभर घुर बालेर डाँका आउँलान कि भनेर सडकमा बस्नुपर्थ्यो । दसैँमा छोरानाति आउँदा पनि डरले फर्किन्थे । अहिले त ढुक्कले सुत्न पाइन्छ । प्रहरी त हाम्रो लागि भगवान् जस्तै भएर आएका हुन् बाबु । यही भएर त हामीले जीउधन लगाएर यो भवन बनायौँ ।”
उहाँको भनाइ केवल विगतको पीडा होइन, सुरक्षाको प्राप्तिमा आएको आत्मगौरव हो । समुदाय–प्रहरी सम्बन्ध अब व्यवहारमा लागू भएको “प्रहरी मेरो साथी” नाराको सजीव उदाहरण बनेको छ । कुनै समय प्रहरीसँग डराउने समाज अहिले प्रहरीलाई साथी, सहारा र अभिभावक मान्न थालेको छ ।
भवन निर्माण समितिका अध्यक्षसमेत रहनुभएका राउतका अनुसार करिब २५ लाख रुपैयाँ स्थानीय स्रोतबाट संकलन गरिएको थियो, जसमा लहान नगरपालिका र मधेश प्रदेश सरकारको पनि आंशिक आर्थिक सहयोग थियो । “यो भवन केवल इँटा र गारो होइन, समाजको एकता, इच्छाशक्ति र प्रहरीप्रति विश्वासको प्रतीक हो,” उहाँले भन्नुभयो ।
समारोहका प्रमुख अतिथि नगरप्रमुख चौधरीले स्थानीयवासीको सहयोग र प्रतिबद्धता प्रशंसायोग्य रहेको भन्दै भन्नुभयो, “समाजका अगुवाहरूले जग्गादान र चन्दा सङ्कलन गरेर यो भवन निर्माण गर्नुभएको छ, जुन यस क्षेत्रका लागि वरदान बनेको छ ।”
डीआईजी चतुर्वेदीले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अपराध न्यूनीकरणको निर्णायक आधार भएको उल्लेख गर्दै भन्नुभयो, “समुदाय सक्रिय भयो भने अपराध पन्छिन्छ, शान्ति टिकाउ हुन्छ ।”
सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रहरीलाई नागरिक र सरकारबीचको महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्दै भन्नुभयो, “यस भवन निर्माणले प्रहरी र जनताबीचको सम्बन्ध झनै मजबुत बनाउनेछ ।”
जिल्ला प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले भने, “सुरक्षा कायम गर्न समुदायसँगको सहकार्य नै जनविश्वास र स्थायीत्वको मूल जग हो ।” रासस

