काठमाडौं । नेपालमा मनसुनजन्य बाढीको जोखिम बढिरहेका बेला टिकटकले बिहीबार नयाँ सर्च गाइड सार्वजनिक गरेको छ । यो गाइडले नेपाली प्रयोगकर्ताहरूलाई बाढी र अन्य प्राकृतिक प्रकोपसम्बन्धी प्रमाणित तथा ताजा जानकारीसम्म सहज पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।
प्राकृतिक प्रकोपसम्बन्धी गलत सूचना फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न यो गाइडले सहुलियत दिने कम्पनीले जनाएको छ । टिकटकका अनुसार, यो सुविधा प्रयोगकर्तामा सुरक्षा सचेतना र तथ्यपरक जानकारी प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो ।
अबदेखि टिकटकमा बाढीसम्बन्धी जानकारी खोज्ने प्रयोगकर्ताले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई बीआइपीएडी (BIPAD) — नेपालको राष्ट्रिय विपद् सूचना पोर्टल, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस, र ट्र्याजिक इभेन्ट सपोर्ट गाइड जस्ता विश्वसनीय स्रोतहरूमा डाइरेक्ट ल्याउनेछ ।
ट्र्याजिक इभेन्ट सपोर्ट गाइडले प्राकृतिक विपद्, व्यक्तिगत क्षति तथा संवेदनशील घटनामा मानसिक स्वास्थ्य सहयोग खोज्ने तरिका, जिम्मेवार सामग्री साझेदारी गर्ने उपाय, र आवश्यक परेको अवस्थामा रिपोर्ट गर्ने प्रक्रिया समेत समेटेको छ ।
टिकटक दक्षिण एशियाका लागि सार्वजनिक नीति तथा सरकारसम्बन्धी सम्बन्ध प्रमुख फिरदौस मोत्ताकिनले भने, “संकटकालमा सही समयमा सही जानकारीको पहुँच अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौं ।”
उनले थपे, “हामीले विपद् व्यवस्थापनसँग सम्बन्धित संस्थासँग सहकार्य गरी यस्ता स्रोतहरू प्रयोगकर्तासम्म सहज ढंगले पुर्याएर सुरक्षित निर्णय लिन र उनीहरूलाई सुरक्षित रहन सघाउन चाहन्छौं ।”
टिकटकले यो सुरुवातलाई आफ्नो सुरक्षित डिजिटल वातावरण निर्माण र विश्वसनीय जानकारीलाई प्राथमिकता दिने अभियानको हिस्सा भनेको छ । प्रयोगकर्ताहरूले थप जानकारीका लागि टिकटक सेफ्टी सेन्टर भ्रमण गर्न सक्नेछन् ।

