जनकपुरधाम, २७ असार । देशको समग्र विकासका लागि सहभागितामूलक योजना र विकास प्रणाली अवलम्बन गर्नु अहिलेको प्रमुख आवश्यकता छन्। योजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कनदेखि प्रतिफल प्राप्तिसम्मका सम्पूर्ण चरणमा सरोकारवालाहरूको सक्रिय सहभागिता नै सहभागितामूलक योजना हो।
दलित अधिकारकर्मी चन्देश्वर सादाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, देशको आवश्यकता अनुसार अधिकतम जनसहभागिता सुनिश्चित गरी योजना निर्माण र विकास प्रक्रिया अघि बढाइनु पर्नेमा जोड दिनुभएको छ। उहाँले सहभागितामूलक योजना प्रणालीलाई प्रजातान्त्रिकरण र आधुनिकीकरणको अभियानको रूपमा व्याख्या गर्दै, योजनाहरू जनतालाई केन्द्रमा राखी बन्नु आवश्यक रहेको बताउनुभएको छ।
अभियन्ता सादाले सहभागितामूलक विकासका केही आधारभूत सिद्धान्तहरू पनि उल्लेख गर्नुभएको छ, जसमा माग र आवश्यकताको सिद्धान्त, सामाजिक परिचालन, सन्तुलित तथा समावेशी विकास, प्रजातान्त्रिक योजना प्रणाली, स्वामित्व अभिवृद्धि, प्रभावकारी योजना प्रणाली, र सामाजिक समावेशिता जस्ता पक्ष समेटिएका छन्।
उहाँका अनुसार यस्ता योजना प्रणालीहरूले नीतिगत समावेशिता, सामाजिक न्याय, समानता र समृद्धि कायम गर्न मद्दत पुर्याउँछन्। साथै, यसले जनताको अपनत्वबोध वृद्धि गर्ने, स्रोतसाधनको अधिकतम परिचालन सुनिश्चित गर्ने र विकासको प्रतिफलमा समन्यायिक वितरण सुनिश्चित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
अन्त्यमा, योजना र विकास प्रणालीलाई समावेशी लोकतन्त्रको आधारशिला मानी अघि बढाउनुपर्ने उहाँको धारणा छ। समाजवाद र प्रजातान्त्रिक मूल्यका आधारमा जनमुखी योजना निर्माण आजको समयको आवश्यकता भएको उहाँको निष्कर्ष रहेको छ।

