सिरहा, २९ असार । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ पर्ने व्यक्ति सोही स्थानका २३ वर्षीय राम उदगार मलाह हुन्। उनलाई शुक्रबार राति विशेष सूचनाका आधारमा गाँजा बोकेर जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
प्रहरीले मलाहलाई प्र२–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो। मोटरसाइकलमा राखिएका सातवटा पोका खोल्दा जम्मा २१२ किलो ९२५ ग्राम गाँजा फेला परेको प्रहरीको भनाइ छ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट गाडीसहित फरार भएका अन्य केही व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

