यदि तपाईं सहरको कोलाहल, सवारीका चर्का हर्न र मानिसको भीडबाट थाकिसक्नुभएको छ भने, जनकपुरधाम नजिकै रहेको नोचा पोखरी तपाईंका लागि एउटा सजीव स्वर्ग बन्न सक्छ । यो न कुनै पाँचतारे होटल हो, न त कृत्रिम रूपमा सिँगारिएको आधुनिक पार्क नै । यो त प्रकृतिको खुला काख हो-जहाँ हावामा आत्मीयता मिसिएको छ, मौनतामा संगीत छ र दृश्यमा स्वाभाविक आनन्द भरिएको छ ।

नोचा पोखरी मधेश प्रदेशको धार्मिक राजधानी जनकपुरधामबाट जम्मा १० मिनेटको दूरीमा, दक्षिणतर्फ अवस्थित छ । शहरी धुलो र तनावबाट मुक्त हुन चाहनेहरूका लागि यो स्थान अहिले एक नयाँ गन्तव्यको रूपमा चर्चामा आउन थालेको छ । यहाँको वातावरण यस्तो शान्त, स्वच्छ र हरियालीले भरिएको छ कि मानिसहरू आफ्ना ‘सेल्फी’भन्दा बढी दृश्य कैद गर्नमा रमाउँछन् । यहाँ पुग्नेहरू फोटो खिच्छन्, तर त्यो ‘पोस्ट’का लागि होइन-मनको सम्झनाका लागि ।

पोखरी वरिपरि हरित भूमिहरू फैलिएका छन-जहाँ किसानहरू परम्परागत तरिकाले खेतीमा जुटिरहेका देखिन्छन् । हलो, गोरु, र खेतको गन्धले एक किसिमको आत्मीय ग्रामीण स्वाद दिन्छ । पोखरीसँगै वन र वनसँगै खुला आकाश-यी सबै मिलेर यस्तो चित्र कोर्छन्, जसमा कुनै कलाकारको कल्पना भन्दा पनि बढी सजीव अनुभूति हुन्छ । यहाँ न फैंसी बोर्ड छन्, न रंगीन बत्तीहरू, तर छ(पातहरूको हल्लाइमा उत्पन्न हुने एक मौन संगीत, जुन मनभित्र गुञ्जिरहन्छ ।

गएको शनिबारको दिन हामी नोचा पोखरी पुग्यौं-पिकनिकको बहानामा केही घण्टा प्रकृतिमा बिताउन । हामीसँग जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, प्रकाशक संघका अध्यक्ष शंकर साह, प्रमोद पण्डितसहित ५० जना सहभागी थियौं । त्यहाँ हामीले महसुस गर्यौं कि साँचो सान्त्वना पैसा तिरेर पाइनँदोरहेछ-त्यो त अनुभव गर्नुपर्छ, साँससंगै महसुस गर्नुपर्छ ।

नोचा पोखरीमा कुनै ठूला ऐतिहासिक कथा छैनन्, न कुनै प्राचीन मन्दिर वा चर्चित स्मारक । तर पनि, भारतका सीमावर्ती गाउँहरूदेखि मधेशका विभिन्न भागहरूबाट सयौं मानिसहरू यहाँ आउँछन-मुख्यतः पिकनिकको बहानामा । तर त्यो बहाना वास्तवमा एउटा अवचेतन चाहना हो-शान्तिको खोज, खुलेको आकाशमा सास फेर्ने स्वतन्त्रता, र केहि घण्टा डिजिटल चासोबाट टाढा हुने समय ।

तर यति सम्भावना बोकेको स्थल राज्यको नजरमा अझै पर्न सकेको छैन । न यहाँ नियमित सरसफाइको व्यवस्था छ, न त विद्युत् सुविधा । पर्यटकहरूका लागि कुनै सूचना बोर्ड छैनन्, आपतकालीन सेवाहरू छैनन्, र सार्वजनिक शौचालयको त झन् कल्पनासम्म गर्न सकिन्न । यस्ता अभावबीच पनि पर्यटकको संख्या बढिरहेको छ-यो आफैंमा यहाँको सौन्दर्यको प्रमाण हो ।
राज्य वा स्थानीय सरकारको थोरै ध्यानले नोचा पोखरी मधेशकै उत्कृष्ट प्राकृतिक पर्यटनस्थल बन्न सक्छ । आवश्यक छैन यहाँ कृत्रिम संरचना निर्माण गर्नुपर्छ, बरु यहाँका मौलिक र प्राकृतिक तत्वलाई संरक्षण गर्नेतर्फ ध्यान केन्द्रित गरिनुपर्छ । सूचना केन्द्र, घाटको समुचित व्यवस्थापन, नियमित सरसफाइ, बत्तीको सुविधा र प्राथमिक उपचारको व्यवस्थाले यो क्षेत्र अझ व्यवस्थित, सुरक्षित र दीर्घकालीन पर्यटक गन्तव्य बन्नसक्छ ।

जनकपुरधाम स्वयं धार्मिक पर्यटनको मुख्य केन्द्र हो । त्यसको प्रवाहसँग प्राकृतिक रमणीय स्थल नोचा पोखरीलाई जोड्न सकियो भने एकीकृत धार्मिक-प्राकृतिक पर्यटन गन्तव्यको अवधारणा विकसित गर्न सकिन्छ । पर्यटकहरू बिहान जनकपुरमा धार्मिक दर्शन र साँझ नोचाको मौनतालाई अंगाल्न सक्नेछन् । यसले स्थानीय रोजगारी, कृषि-आधारित सेवा, यातायात र खाद्य व्यवसायमा समेत सकारात्मक असर पार्नेछ ।
अर्कोतर्फ, स्थानीय समुदाय पनि यो सम्भावनाको साझेदार बन्न सक्छ । खेतको छेउमा बनाइने विश्रामस्थलहरू, स्थानीय खानाका परिकार बेच्ने कक्षहरू र पर्यटकलाई क्षेत्रको कथा सुनाउने युवा गाइडहरूले समुदायकै नेतृत्वमा पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।
हामीले यो पोखरीमा शुद्ध प्राकृतिक अनुभव लियौं । त्यो कुनै टिकट लिएर, गेटबाट प्रवेश गरेर पाउने अनुभव थिएन-त्यो त मनले महसुस गर्ने र प्रकृतिसँग एकाकार हुने अनुभव थियो । यही कारण हो, हामी सबैले फर्कँदा एउटा साझा महसुस बोकेका थियौं-यस्तो ठाउँ हराउन नदिनु पर्छ ।
नोचा पोखरी कुनै ब्राण्डेड पर्यटन स्थल होइन, तर त्यहाँ पाइने अनुभूति नै यसको परिचय हो । हामीले विकासका नाममा कङ्क्रीट, बत्ती र शोर थप्ने होइन, मौनतालाई संरक्षित गर्ने दृष्टिकोण राख्नुपर्छ ।
राज्य, स्थानीय सरकार, संघसंस्था र समुदायको साझेदारीमा नोचा पोखरीजस्ता स्थानहरूलाई व्यवस्थापन गर्न सकियो भने, मधेशको पर्यटन नक्सा नै पुनःलेखन हुनेछ ।
यस्तो प्रकृति–केन्द्रित, आत्मा–स्पर्शी स्थल एकपल्ट पुगेर मात्र बुझ्न सकिन्छ–शब्दमा त्यो अनुभूति झल्किँदैन, महसुस गर्नुपर्छ ।

