जनकपुरधाम, २९ असार । झण्डै दुई लाख जनसंख्या रहेको जनकपुरधाम उपमहानगरपालिकामा खानेपानीको गम्भीर समस्या उत्पन्न भएको छ । करीब १५ हजार चापाकलमध्ये अधिकांश चापाकल सुक्न थालेपछि, अधिकांश बासिन्दा दैनिक उपभोगको पानीका लागि हैरानीमा परेका छन् ।
उपमहानगरपालिका भित्र रहेका २५ वटा वडामध्ये अधिकांश वडामा रहेका चापाकल अत्यधिक गर्मीका कारण प्रयोगविहीन बन्न थालेका छन् । पानीको अभावले स्थानीयहरू काकाकूल हुन थालेका छन् ।
खानेपानी संस्थान जनकपुरधामका अनुसार, हालसम्म २५ वटामध्ये १२ वटामा मात्र खानेपानी पाइपलाइन जडान गर्न सकिएको छ । बाँकी वडाहरूमा पाइपलाइन विस्तारको काम भइरहे पनि उपभोक्ताको चाप दिनप्रतिदिन बढ्दै गएको छ ।
संस्थानका प्रमुख विष्णुदेव साह भन्छन्, “संस्थानसँग हाल दुईवटा पानी टंकी मात्र छन्, त्यसले पूर्ति गर्न नसक्दा अरु उपभोक्तालाई डाइरेक्ट पानी आपूर्ति गर्दै आएका छौं । दैनिक करिब ५५ लाख लिटर पानीको खपत हुँदै आएको छ ।”
उनका अनुसार, हालसम्म १२ वटा वडामा ६ हजार मिटर जडान भइसकेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको माग अनुसार नै पाइप जडान कार्य भइरहेको भए पनि, सडक निर्माणका क्रममा पाइपमा क्षति पुग्ने समस्या देखिएको साहको भनाइ छ ।
“सडक विस्तार तथा उपभोक्ता समितिद्वारा बनाइएका सडकले पाइप फुट्ने, कट्ने, वा अन्य समस्या गराउँछन्, जसले खानेपानी सेवामा अवरोध पु¥याएको छ,” प्रमुख साहले बताउनुभयो ।
हालसम्म वडा नं. १ देखि ११ र वडा नं. १४ मामात्र खानेपानीको पाइप जडान भएको छ । दैनिक ३(४ वटा मिटर जडान भइरहे पनि उपभोक्ताको मागको अनुपातमा सेवा विस्तार अपुग भएको प्रमुख साहको भनाइ छ।
उता, बढ्दो तापक्रमका कारण चापाकल सुक्दै जाँदा जनकपुरधामवासीहरु जाडको पानी किनेर खान बाध्य भएका छन् । खानेपानीको अभावसँगै जनजीवन प्रभावित हुन थालेको छ । विद्यालय, अस्पताल, पसल, र घर(घरमा दैनिक जीवनयापनमा समेत असर देखिएको छ । अझ गर्मी बढेमा जनस्वास्थ्यसम्बन्धी समस्या पनि आउन सक्ने चिन्ता जनाइएको छ ।
जनकपुरधाममा खानेपानी संकटले गम्भीर रूप लिँदै गएको छ । उपमहानगरको तीव्र जनसंख्या वृद्धिसँगै आधारभूत पूर्वाधार विस्तारमा ढिलाइ हुँदा यो समस्या थप जटिल बन्दै गएको देखिन्छ । राज्य र स्थानीय तहले आपतकालीन योजना सहित दीर्घकालीन समाधानतर्फ गम्भीर ध्यान दिन आवश्यक छ ।
खानेपानीको समस्या देखिएपछि यसप्रति प्रदेश सरकार गम्भीर हुनुपर्ने पीडित उपभोक्ताहरुको माँग छ ।

