जनकपुरधाम, ३१ असार । मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशमा बढ्दो सुख्खा र खानेपानी संकटको समाधानका लागि प्रदेश सरकारले आफ्ना स्रोत–साधन पूर्ण रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै, उहाँले संघीय सरकार र दातृ निकायहरूलाई आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको छ ।
मंगलबार बिहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरूसँग सम्पन्न बैठकमा मुख्यमन्त्री सिंहले समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । “मौजुदा अवस्थालाई ध्यानमा राख्दै तात्कालिक र दीर्घकालीन उपायहरू तत्काल लागू गर्नुपर्छ,” मुख्यमन्त्री सिंहले भन्नुभयो ।
उहाँले बैठकमा जोड दिँदै भने, “मात्र निर्णय र छलफल होइन, अब के गर्न सकिन्छ भनेर तुरुन्तै काम सुरु गरौं । जनतालाई तत्काल राहत महसुस हुने गरी काम गर्न आवश्यक छ ।”
प्रदेशका १३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको उल्लेख गर्दै उहाँले गम्भीर अवस्थाका बेला दातृ निकायहरूले अग्रसरता देखाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । “हामी वातावरणीय असन्तुलनको गम्भीर असर झेलिरहेका छौं, यस्तो बेला खुलेर सहयोग गर्नुहोस्,” मुख्यमन्त्री सिंहको आग्रह थियो ।
धान रोपाइँ हुन नसक्ने अवस्था सिर्जना भएमा खाद्य संकट निम्तिन सक्ने भन्दै उनले सरोकारवाला मन्त्रालयहरूलाई अग्रिम तयारी गर्न निर्देशन दिनुभयो । “काम आजै सुरु गरौं, समस्या जहाँ छ, मलाई बताउनुहोस्, हामी सबै गम्भीर भएर लागौं,” उहाँले स्पष्ट रूपमा निर्देशन दिनुभयो ।
मुख्यमन्त्री सिंहले संघीय सरकारसँग पनि आवश्यक समन्वय र छलफल भइरहेको जानकारी दिनुभयो । साथै, सुख्खा र खानेपानी समस्यासम्बन्धी सबै प्रयास र कामहरूको दैनिक अद्यावधिक प्रतिवेदन पेस गर्न निर्देशन दिनुभयो ।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्री, गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी, तथा ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको उपस्थिति रहेको थियो । मन्त्रालयगत रूपमा हालको अवस्थाका सम्बन्धमा तथ्याङ्क तथा सुझावहरू पनि प्रस्तुत गरिएको थियो ।
दातृ निकायका प्रतिनिधिहरूले समेत आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

