जनकपुरधाम, ३२ असार । मधेश प्रदेश सरकारले जनसुरक्षालाई केन्द्रमा राख्दै दुईवटा नयाँ बीमा कार्यक्रम आजबाट लागू गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालित यी कार्यक्रमहरू ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ र ‘नागरिक दुर्घटना बीमा’ हुन् ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले आफ्नो फेसबुकमार्फत यी कार्यक्रमहरूको औपचारिक घोषणा गरेका हुन् । उहाँले सामाजिक सञ्जालमा लेख्दै आज (असार ३२ गते) देखि प्रदेशभर यी कार्यक्रमहरू लागू भएको जानकारी दिनुभएको छ ।
’नागरिक दुर्घटना बीमा’ कार्यक्रमअन्तर्गत दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति रु १० लाखसम्मको बीमा दाबी उपलब्ध गराउनेछ । यसले विशेषगरी दैनिक जोखिमपूर्ण पेशामा संलग्न मजदुर, श्रमिक, किसान तथा विपन्न वर्गलाई राहत पु¥याउने अपेक्षा गरिएको छ ।
त्यस्तै ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ कार्यक्रमअन्तर्गत आगलागी, बाढी, हावाहुरी, चट्याङ, भूकम्प वा अन्य प्राकृतिक विपत्तिबाट घरमा क्षति पुग्ने हो भने रु १ लाखदेखि ५ लाख २५ हजार रुपैयाँसम्मको आर्थिक सहायता उपलब्ध हुने व्यवस्था गरिएको छ । यस कार्यक्रमले विपद्पछिको पुनस्र्थापनामा मद्दत पु¥याउने विश्वास गरिएको छ ।
यी कार्यक्रमहरू लागू भएपछि मधेश प्रदेशका नागरिकहरू विपद् र दुर्घटनाबाट पीडित भएमा राज्यबाट प्रत्यक्ष राहत पाउने सुनिश्चितता भएको छ । मन्त्री जयसवालका अनुसार, यी बीमा योजनाहरू सामाजिक न्याय र नागरिक सुरक्षा सुनिश्चित गर्ने दिशामा सरकारको महत्वपूर्ण कदम हुन् ।

कार्यक्रमहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न स्थानीय तह, जिल्ला प्रशासन तथा समाज कल्याण कार्यालयहरूलाई समन्वयात्मक भूमिकामा परिचालन गरिनेछ । यसअघि विपद् व्यवस्थापनमा देखिएको ढिलासुस्ती र राहत वितरणमा देखिएका कमजोरीलाई मध्यनजर गर्दै यसपटक बीमा प्रणालीलाई पूर्वसक्रिय रूपमा लागू गरिएको प्रदेश सरकारको भनाइ छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नागरिक कल्याणमुखी बीमा प्रणालीलाई प्राथमिकता दिने जनाएको थियो । आजदेखि सुरु भएका यी कार्यक्रमहरू त्यसको कार्यान्वयनको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ ।

