समाचार दैनिक आज सातौँ वर्षमा प्रवेश गरेको छ । पहिलो दिनदेखि यथार्थको पक्षमा निर्भीक भएर कलम चलाउँदै आएको हाम्रो यात्रा सजिलो भने कहिल्यै थिएन । पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, यो असमानता र अन्यायको विरुद्ध आवाज बुलन्द गर्ने सामाजिक अभियान हो । यो यात्रामा हामीले धेरै चुनौतीहरूको सामना ग¥र्यौं । प्रविधिको तेज गतिमा आएको क्रान्ति, सत्ताको दबाब, आर्थिक कठिनाइ, र व्यवस्थाबाट पाएको उपेक्षा, तर यिनै कठिनाइले हामीलाई अझ बलियो बनायो ।
छ वर्षको अवधिमा हामीले पत्रकारिता क्षेत्रको जटिल यथार्थसँग सामना ग¥यौं । न्यू मिडियाको बढ्दो प्रभावबीच पनि प्रिन्ट मिडियाप्रति पाठकको भरोसा कायमै रहनु, हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हो । आज डिजिटल प्रविधिले सञ्चार माध्यमलाई सहज बनाइरहे पनि, गम्भीर र विवेचनात्मक समाचारका लागि पाठक अझै प्रिन्ट मिडियामै फर्किन्छन् । यही विश्वासले हामीलाई हाम्रो मार्गमा अडिग बनाएको छ ।
तर अहिलेको परिस्थिति सजिलो छैन । तीन तहको सरकार भए पनि कुनै पनि सरकार सञ्चारमाध्यममैत्री बन्ने चाहना राख्दैनन् । बरु, सत्तामा पुगेपछि जनसञ्चारलाई नियन्त्रण गर्ने मनसाय देखिन्छ । पत्रकारलाई डर देखाउने, संस्थालाई आर्थिक रुपमा कमजोर बनाउने र सूचना प्रवाहलाई सीमित गर्ने कार्यहरू भईरहेका छन् । यस्ता गतिविधिले लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरामा सन्देह छैन ।
हामी दलित समुदायबाट सञ्चालित एउटा जिम्मेवार पत्रकारिता संस्थाका रुपमा हाम्रा पाठकमाझ प्रस्तुत भएका छौं । हाम्रो संस्थाको विशेषता भनेकै दलित समुदाय र अन्य वञ्चित वर्गको आवाज उठाउनु हो । मधेश प्रदेशमा दलित र महिलामाथि भइरहेका विभेद, अत्याचार र हिंसाका घटनाहरूप्रति हाम्रो दृष्टि सदैव तिखारिएको छ । यस्ता विषयलाई आम मिडियाले बेवास्ता गरे पनि हामीले आवाज उठाउँदै आएका छौं, तथ्यमा आधारित समाचार प्रकाशित गर्दै आएका छौं ।
दलितको पीडा, महिला हिंसा, जातीय भेदभाव, गरिबी र शिक्षाबाट वञ्चित समुदायका मुद्दाहरूलाई हामीले निरन्तर उजागर गर्दै आएका छौं । यो सजिलो काम थिएन, छैन पनि । खासगरी आर्थिक सहयोगको अभाव, विज्ञापनमा गरिने विभेद र राज्य संरचनाबाट पाएको उपेक्षा यस्ता चुनौती हुन् जुन हाम्रा लागि दैनन्दिनका विषय बनेका छन् । तर पाठक वर्गको भरोसा, सहानुभूति र समर्थनले हामीलाई आशावादी बनाइरहेको छ ।
छलफल, तथ्य, विश्लेषण र तटस्थता हाम्रो पत्रकारिताको मूल मन्त्र हो । दलित समुदायको हितका विषयलाई निरन्तर प्राथमिकतामा राख्नु, जनचेतनाका कार्यक्रम, अभिमत निर्माण र सार्वजनिक बहसको संयोजन गर्नु हाम्रो लागि गौरवको विषय हो । यस यात्रामा हामीले सत्यको पक्षमा कलम चलाईरहेका छौं, सत्य नै हाम्रो सिद्धान्त हो ।
यस अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक, सल्लाहकार, लेखक, पत्रकार साथीहरू र आलोचकहरूप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौं । तपाईंहरूको प्रत्यक्ष वा परोक्ष सहयोगबिना यो यात्रा सम्भव थिएन । आलोचनाले सुधारको बाटो देखाउँछ, प्रशंसाले हौसला दिन्छ — हामी दुबैलाई स्वागत गर्छौं । हाम्रो प्रतिवद्धता छ — हामी कहिल्यै पनि बिक्दैनौं, झुक्दैनौं, विचलित हुँदैनौं । सत्यको पक्षमा, निष्पक्ष, निर्भीक र जनताको आवाज बन्ने हाम्रो लक्ष्य अबझन् प्रस्ट हुँदै गएको छ । सातौँ वर्षको शुरुवातमा हामी अझ सशक्त, अझ स्पष्ट र अझ प्रतिबद्ध भएर अघि बढ्नेछौं ।
अन्तमा, तपाईंहरूकै साथ, विश्वास र समर्थनमा टिक्दै, पत्रकारिताको यो संघर्ष र सेवा यात्रालाई निरन्तरता दिन हामी तयार छौं । सशक्त मिडियाको निर्माणमा हातेमालो गरौं । धन्यवाद !

