सर्लाही, ४ साउन । सर्लाहीको मंगलवामा जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादवका समर्थकहरुले प्रहरी विरुद्ध लाठी जुलुस प्रदर्शन गरेको छ । समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा पनि नारा लगाएका छन् । अशोक यादवमाथि लगाइएको मुद्दाको खारेजको माँग पनि गरेका छन् ।

प्रदर्शनकारीहरूले जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्काविरुद्ध चर्को नाराबाजी गर्दै यादवमाथिको ‘झुटा मुद्दा’ तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरूले आन्दोलन अझ सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।
गत साता मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा अनियमितता भएको आशंकापछि नेता यादव र एसपी खड्काबीच चर्को भनाभन भएको थियो । त्यसपछि प्रहरीले यादवलाई पक्राउ गर्न खोज्दा स्थानीयबासीले प्रहरीको गाडीमा तोडफोड गरेका थिए ।
प्रहरीले यादवविरुद्ध ‘आपराधिक उपद्रव’ मुद्दा दर्ता गर्दै जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी गराएको थियो । तर त्यसयता यादव फरार छन् ।

नेता यादवमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोधमा आधारित रहेको आरोप लगाउँदै जसपासहित छ वटा दलले संयुक्त समर्थन जनाएका छन् । जसपा, नेपाल समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै न्यायिक छानबिनको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “पूर्वाधार कार्यालयमा भएको भनिएको अनियमितता लुकाउन जिल्ला प्रहरी प्रमुख स्वयंले यादवलाई फसाउन खोजेका छन् । जबसम्म मुद्दा खारेज हुँदैन, आन्दोलन जारी रहनेछ ।”
सर्लाहीको यो घटना पछिल्लो समय प्रदेश राजनीति र सुरक्षा निकायबीचको तनावलाई झल्काउने संवेदनशील मोडका रूपमा हेरिएको छ ।


