हेटौंडा, ९ साउन । बागमती प्रदेश सरकारमा राजनीतिक संकट गहिरिँदै गएको छ । प्रदेश सरकारका चार मन्त्रीहरूले बुधबार सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन् ।
चारै जना मन्त्री केही दिनअघि मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेट गरेका थिए । त्यसपछि उनीहरूको राजीनाले राजनीतिक तरंग ल्याएको हो ।
विश्वसनीय स्रोतका अनुसार मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध नेपाली कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ । उक्त प्रस्तावको प्रारम्भिक मस्यौदा तयार भइसकेको र चाँडै प्रदेशसभा सचिवालयमा दर्ता गरिने स्रोतले जानकारी दिएको छ ।यस घटनाले बागमती प्रदेशको राजनीतिक समीकरण फेरिने संकेत दिएको छ ।

