महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तराई–मधेशको सुक्खाग्रस्त क्षेत्रको हवाई अवलोकन गरेका छन् ।
नेपाल सरकारले यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत मधेश प्रदेशलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । सो निर्णयपछि प्रधानमन्त्री ओली सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकार र उच्च सरकारी अधिकारीहरूसँग समस्या समाधानको उपायबारे छलफलमा जुटेका थिए ।
शुक्रबार महोत्तरी र बारा जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरमार्फत सुक्खाबाट प्रभावित क्षेत्रहरूको निरीक्षण गरेका हुन् ।
मधेशमा वर्षाको अभावका कारण धान रोपाइँ ठप्प भएको, कृषि उत्पादनमा गम्भीर असर परेको र आम नागरिकको जीवनमा समस्या उत्पन्न भएको अवस्थामा प्रधानमन्त्रीको यो अवलोकनलाई अर्थपूर्ण कदमका रूपमा हेरिएको छ ।

