जनकपुरधाम ११ साउन । इन्सेकका संस्थापक महासचिव तथा अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “प्रकाश मानव अधिकार पुरस्कार” यस वर्ष चुरे तथा वन–जंगल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने भएको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिअनुसार सार्वजनिकरूपमा आह्वान गरिएका ४० जनाको नामबाट यादवलाई छनोट गरिएको हो । वातावरणीय अधिकारका क्षेत्रमा सम्झौतारहित संघर्ष गर्दै आउनुभएका यादवको योगदान मूल्यांकन गर्दै उहाँलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कार छनोट समितिको संयोजकत्व इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले गर्नु भएको थियो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेल र अधिकारकर्मी गंगा कसजु सदस्यका रूपमा रहनुभएको थियो ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ मौवाही निवासी यादव सन् २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । चुरे क्षेत्रको दोहनका कारण मधेश प्रदेशमा देखापरेका जलवायु तथा वातावरणीय समस्याप्रति सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन उहाँले विविध सचेतनामूलक कार्यक्रम, अभियान र नीतिगत पैरवी गर्दै आउनुभएको छ ।
यादवलाई आगामी साउन १६ गते काठमाडौंमा आयोजना हुने ३३ औँ प्रकाश स्मृति दिवसका अवसरमा नगद ५० हजार, सम्मानपत्र तथा इन्सेकको प्रतीक चिन्हसहित पुरस्कृत गरिने छ ।

