जनकपुरधाम, १६ साउन । जनकपुरधामस्थित गुणस्तर तथा नापतौल कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा नापतौल यन्त्र नविकरण नगर्ने तथा ठगी गर्ने २ हजार ४३ उद्योगी तथा व्यवसायिक फर्मलाई कारबाही गर्दै जरिवाना गरेको छ।
धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप गरी पाँच जिल्लालाई कार्यक्षेत्र बनाएको उक्त कार्यालयले अनुगमन तथा निरीक्षणका क्रममा व्यवसायिक कारोबारमा अनियमितता पाउने फर्महरूलाई कारबाही गरेको हो। साथै नापतौल यन्त्रको इजाजतपत्र वितरण पनि गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख शुनिल यादवका अनुसार, कारबाहीमा परेका व्यवसायी तथा उद्योगीहरूले मनपरी ढंगले ढक, तराजु र डिजिटल नापतौल यन्त्र प्रयोग गरेको पाइएको थियो। ती उपकरणहरूको परीक्षण गर्दा मापदण्ड विपरीत रहेको पुष्टि भएपछि जरिवाना गरी कानुनी दायरामा ल्याइएको उनले जानकारी दिए।
कार्यालयले साउनदेखि असारसम्म विभिन्न समयमा गरिएको डोर खटनपटन, अनुगमन तथा नापतौल यन्त्र परीक्षणका क्रममा पाइएको कैफियतका आधारमा कारबाही गरिएको हो।
प्राप्त विवरणअनुसार, सो अवधिमा २ हजार ६३० जना व्यवसायीका नापतौल यन्त्र परीक्षण गरिएको थियो। साथै सर्लाहीको लालबन्दी र हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका तथा सिन्धुलीको कमलामाई नगरपालिकामा नापतौल यन्त्रको प्रयोग, जरिवाना र कानुनी प्रक्रिया सम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो।
कार्यालयले उक्त अवधिमा २९ पटक एकल अनुगमन, २७२ पटक व्यवसायिक फर्मको अनुगमन, १८ पटक संयुक्त अनुगमन तथा ४९९ पटक व्यवसायिक प्रतिष्ठानहरूको अनुगमन गरेको जानकारी दिएको छ। विभिन्न शीर्षकमा गरी सो अवधिमा ५१ लाख १ हजार ९ सय ६० रुपैयाँ राजस्व संकलन गरिएको छ। अघिल्लो वर्ष २०८०/८१ मा कार्यालयले ४० लाख ६७ हजार २ सय ४२ रुपैयाँ राजस्व संकलन गरेको थियो।
त्यस्तै, सोही अवधिमा कार्यालयले ९१७ वटा नयाँ व्यवसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालन गर्नका लागि इजाजतपत्र प्रदान गरेको प्रमुख यादवले बताए।
तर, पाँच जिल्लाको कार्यक्षेत्र रहेका भए पनि कार्यालयसँग आफ्नै भवन नभएको, साँघुरो भाडाको कोठामा सेवा दिइनु परेको, डोर खटनपटन तथा अनुगमनका लागि सवारीसाधन नहुँदा कार्यसम्पादनमा कठिनाइ भइरहेको र बजेट अभावसमेत रहेको प्रमुख यादवले गुनासो गरे।

