जनकपुरधाम, २७ साउन । नेपाल–भारत सीमानाकामा पर्ने पूर्वी धनुषाको दुहबी बजारमा सशस्त्र प्रहरी र तस्करबीच बारम्बार हुने भिडन्तका कारण स्थानीयवासी त्रासमा बाँच्न बाध्य भएका छन् ।
विदेह नगरपालिका–५ मा पर्ने दुहबी बजार भारतीय सीमासँग साटिएको नेपाली बजार हो । महिनाथपुरस्थित सशस्त्र प्रहरी बल बिओपी
(प्रस्तावित) गुल्मका डिएसपी सीताराम पौडेलको नेतृत्वमा तस्करी नियन्त्रणका क्रममा पटक–पटक गोली चलाउने घटना भएको छ । पौडेलको आगमनपछि करिब दुई महिनाभित्र दुई पटक गरी आठ राउण्डभन्दा बढी हवाई फायर भएको स्थानीयको दाबी
छ ।
स्थानीय श्रवण कुमारका अनुसार, भारतबाट घरायसी सामान ल्याउँदा पनि प्रहरीको रोकथाम र गोली प्रहारको सामना गर्नुपरेको छ । उनले भने, “हामी सामान्य किनमेल गर्न जाँदा पनि मुठभेडको स्थिति सिर्जना हुन्छ, जसका कारण डर र त्रासमा बाँचिरहेका छौ ं।”
तर, डिएसपी पौडेलको भनाइ फरक छ । उनका अनुसार, सीमाक्षेत्रमा व्यापक तस्करी भइरहेको छ। “तस्करहरूले ढुंगामुढा तथा भालासहित आक्रमण गर्न खोजेपछि भीडलाई तितरबितर गर्न आत्मरक्षार्थ हवाई फायर गर्नु परेको हो,” उनले स्पष्ट पारे।
गत असार र साउन महिनामा मात्र दुई पटक सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको र त्यस क्रममा आठ राउण्डभन्दा बढी गोली प्रहार गरिएको बताइन्छ।
दुहबीका स्थानीयवासीले सामान्य विषयमा समेत गोली चलाउने अवस्था आउनु राज्यको ‘औपनिवेशिक सोच’को परिणाम भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार, यस्तो स्थितिले कुनै दिन स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ।
प्रहरीको बाक्लो उपस्थितिमा समेत तस्करी रोक्न नसकिएको कुरा ‘हावादारी’ भएको स्थानीयको तर्क छ। बारम्बारको भिडन्त र गोली प्रहारले भारतको दुहबी (जानकी नगर) मा समेत असर परेको छ, जसका कारण भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेला(बेला नाकाबन्दी गर्दै नेपाली उपभोक्तालाई किनमेलका लागि भारत पस्न रोक्ने गरेको छ। यसले घरायसी सामान किन्न पनि स्थानीयलाई समस्या भएको छ।
यसरी हेर्दा, सशस्त्र प्रहरी र तस्करबीचको निरन्तरको भिडन्तले कुनै दिन दुहबीमा उग्र रुप लिन सक्ने चिन्ता स्थानीयमा बढ्दै गएको छ ।

