जनकपुरधाम – यो केवल एक धार्मिक नगर होइन, यो मिथिला सभ्यताको धरोहर हो, नेपालको र भारतीय जनमानसको आस्था र आदरको केन्द्र हो। जानकी मन्दिर, विवाह मण्डप, अग्निकुण्ड, गंगासागर, धनुष सागरजस्ता स्थलहरू न केवल धार्मिक चिनारी हुन्, ती सांस्कृतिक सम्बन्ध र ऐतिहासिक स्मृतिका जीवित प्रतीक हुन्। यिनै धार्मिक र सांस्कृतिक महत्वले ओतप्रोत जनकपुरधाममा पछिल्लो समय भारतीय पर्यटकको उल्लेखनीय आगमनले यो शहरलाई पुनः एकपटक क्षेत्रीय धार्मिक पर्यटनको केन्द्रमा ल्याएको छ।
नेपाल–भारत खुला सिमाना, सहज आवागमन, सस्तो यात्रा, धार्मिक विश्वास र ऐतिहासिक आकर्षणको संयोजनले जनकपुरधाम भारतीय तीर्थयात्रीहरूको प्रिय गन्तव्य बन्न पुगेको छ। आर्थिक वर्ष २०८१÷८२ मा मात्र जटही नाकाबाट स्थलमार्ग हुँदै करिब तीन लाख भारतीय पर्यटक जनकपुर प्रवेश गर्नु, नेपालको पर्यटन क्षेत्रका लागि उत्साहजनक तथ्य हो। उत्तर प्रदेश, बिहार, झारखण्ड, बंगाललगायतका राज्यहरूबाट मोटरसाइकल, जीप, बस लगायतका सवारीसाधनमार्फत ती पर्यटकहरू जानकी मन्दिर, विवाहमण्डप, धनुष सागर, गंगासागरजस्ता स्थलहरूको दर्शनका लागि आएका छन्। धार्मिक पर्यटनको यो क्रम न केवल सांस्कृतिक आदान–प्रदानको प्रतीक हो, यो स्थानीय अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा पनि हो।
भन्सार कार्यालयको तथ्यांक अनुसार, जटही नाकाबाट ४४ हजारभन्दा बढी सवारी साधन जनकपुरधाम प्रवेश गरेका छन्। खुला सिमानाको विशेषताले ती पर्यटकहरू अल्पकालीन यात्रा गरी फर्किने गरेका भए पनि उनीहरूले यहाँको बजार, यातायात, होटल, मठमन्दिर र सडकको दैनिक चहलपहलमा प्रत्यक्ष प्रभाव पारिरहेका छन्। यो प्रभाव केवल धार्मिक वातावरणसम्म सीमित छैन; व्यापार, रोजगारी र राजस्व संकलनमा समेत यसको गहिरो छायाँ परेको छ।
जटही भन्सार कार्यालयले २०८१÷८२ मा ५७ करोडको लक्ष्यविरुद्ध ४८ करोडभन्दा बढी राजस्व संकलन गर्नु स्वयंमा प्रशंसनीय उपलब्धि हो। सन् २०६२ मा स्थापना भई २०७२ मा मूल भन्सारको रूपमा स्तरोन्नति भएको जटही अहिले मधेस प्रदेशकै एक व्यस्त तथा सम्भावनायुक्त नाका बनिसकेको छ। यहाँबाट कपडा, मोटरसाइकल पाट्र्स, खाद्य सामग्री, निर्माण सामग्रीजस्ता वस्तुहरूको आयात हुँदै आएको छ, जुन प्रदेशको व्यवसायिक जीवनधाराका रूपमा देखा परेको छ।
जनकपुरधाम विशेष गरी रामनवमी, विवाहपञ्चमी, तीज, सावन र छठजस्ता पर्वहरूमा भारतीय धार्मिक पर्यटकको घुइँचोले भरिन्छ। विवाहपञ्चमीमा त यस शहरले ऐतिहासिक घटनालाई नाट्यमय चभभलबअतmभलत स्वरूप प्रस्तुत गरेर धार्मिक र सांस्कृतिक पर्यटनको अद्वितीय नमूना स्थापित गरेको हुन्छ। यस्तो अवसरमा हुने पर्यटक आगमनले स्थानीय व्यवसायी, होटल व्यवसाय, यातायात क्षेत्रलाई प्रत्यक्ष आर्थिक लाभ पु¥याउँछ।
तर यो वृद्धिलाई दिगो बनाइराख्न पूर्वाधार विकास अपरिहार्य बन्दै गएको छ। सडक सञ्जालको अवस्था, पार्किङको असुविधा, सीमा प्रशासनको ढिलासुस्ती र पर्यटक सेवाको अव्यवस्थित स्वरूपले जनकपुरधामको सम्भावनामा अवरोध खडा गरिरहेको छ। यदि पर्यटनमैत्री नीतिहरू लागू गरिए, सुविधाजनक पार्किङ, होटल, गाइड, धार्मिक स्थलहरूसम्मको शुद्धता र पहुँच सुनिश्चित गरिए भने जनकपुरधामले धार्मिक पर्यटनमा देशकै नमुना शहर बन्न सक्ने प्रबल सम्भावना बोकेको छ ।
हाम्रो सरोकार केवल पर्यटकको संख्यामा होइन, त्यो यात्राले सन्देश के ल्याउँछ भन्नेमा पनि हुनुपर्छ। जनकपुरधाम केवल नेपाल र भारतको सीमावर्ती शहर होइन; यो दुई राष्ट्रबीचको सांस्कृतिक संवादको केन्द्र हो। जटही नाका केवल मालसामान आयात–निर्यातको स्थान होइन; यो राम–सीताको प्रेम, मिथिलाको भाषा, पोशाक, परम्परा र आस्थाको सेतु हो। जति यहाँ व्यापार हुन्छ, त्यति नै यहाँ संस्कृति आदान–प्रदान हुन्छ। त्यसैले पनि जटही नाकालाई केवल नाफा–घाटाको आँखाले होइन, साझा सांस्कृतिक सम्पदाको ढोका मानेर हेर्नुपर्छ।
आज आवश्यकता के छ भने, यस यात्रालाई एकपक्षीय श्रद्धा यात्रामा सीमित राख्ने होइन, दोहोरो सम्बन्धमा रूपान्तरण गर्ने हो—जहाँ पर्यटकले दर्शन मात्र होइन, यहाँको संस्कृतिमा सहभागिता पनि जनाऊन्; जहाँ स्थानीय व्यवसायले नाफा मात्र होइन, सेवा र सांस्कृतिक समर्पण पनि देओस्; जहाँ राज्यले राजस्व मात्र होइन, पूर्वाधार र सम्मान पनि विस्तार गरोस्।
जनकपुरधामको धार्मिक पर्यटन, व्यापारिक क्रियाकलाप र सांस्कृतिक सम्पर्कलाई सन्तुलित र दिगो रूपमा अघि बढाउन राज्य, स्थानीय तह, निजी क्षेत्र र समुदायबीच सहकार्य अपरिहार्य छ। यसबाट न केवल मधेस प्रदेशको समृद्धि सम्भव छ, समग्र राष्ट्रको सांस्कृतिक पहिचान पनि बलियो बन्नेछ।

