आर्थिक वर्ष २०८१/८२ मा भारतबाट १,७३५ मेट्रिक टन चामल र २६,४६६ मेट्रिक टन धान नेपाल भित्रिएको छ। भन्सारमा कम मूल्य घोषणा र तस्करीले आयात बढाएको र कृषिमा पर्याप्त प्रोत्साहन नदिँदा परनिर्भरता बढिरहेको व्यापारीहरूले बताएका छन्।
वीरेन्द्र कर्ण
जनकपुरधाम, १ भदौ । छिमेकी मुलुक भारतबाट आर्थिक वर्ष २०८१÷०८२ मा ८२ करोड ७९ लाख ८० हजार मूल्य बराबरको एक हजार सात सय ३५ मेटन चावल नेपाल भित्रिएको छ । जसमध्ये ३ करोड ६० हजार मूल्य बराबरको ४ सय ८७ मेटन बासमती चावल र ७९ करोड ८९ लाख ७४ हजार मूल्य बराबरको १ हजार ३ सय ८४ मेटन मोटो चावल रहेको क्वारेन्टाइन कार्यालय भिठामोडले जनाएको छ ।
प्रमुख किशोर कुमार यादवका अनुसार गत वर्ष भारतबाट चावल आयातको वृद्धिदर निकै बढीरहेको तथ्यांकले देखाएको बताउनुभयो । यो वृद्धिदर कृषिमा आधारित अर्थतन्त्र भएको मुलुकको लागि स्वभाविक नभएको व्यापारीहरु बताउँछन् ।
भन्सार विन्दुबाट नलगि चोरी आयात पनि त्यतिकै बढेको छ । व्यापारीहरु भन्सार विन्दुमा घोषणा गरेको भन्दा बजार मूल्य पनि उच्च रहेको छ । व्यापारीहरुले चावल आयत गर्दा कृषि सुधार शुल्क तिर्नुपर्ने भएकोले भन्सार विन्दुमा सकेसम्म थोरै रकम घोषणा गर्दै आई रहेका छन् । भारतीय सीमा नजिकका नेपाली उपभोक्ताहरु दैनिक भारतबाट ठूलो परिणाममा ल्याउँछन्, जुन भन्सारमा रिकर्ड हुँदैन । त्यति मात्र नभएर व्यापारीहरुले तस्करी मार्फत समेत चावल ल्याउने गर्दछन् ।
यसैगरी सोही आर्थिक वर्षमा ७६ करोड २२ लाख ३५ हजार मूल्य बराबरको २६ हजार ४ सय ६६ मेटन धान नेपाल भित्रिएको छ । कृषिमा आधारित खेतीलाई सरकारले प्रोत्साहन नदिदा वर्षेनी करोडौं रुपैया भारततर्फ जाने गरेको छ भने यसले परनिर्भरता समेत बढ्न गएको छ । जसले गर्दा नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव बढ्दै गएको व्यापारीहरु बताउँछन् ।

