जनकपुरधाम, १ भदौ । नेपाल पत्रकार महासंघ धनुषा शाखाले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन् । महासंघले “न्याय नपाएसम्म आन्दोलन जारी रहने” चेतावनी दिँदै पत्रकारमाथि भएको आक्रमणप्रति प्रशासन मौन बसिरहेको आरोप लगाएको छ ।
नेपाल वार एशोसिएशनमा आवद्ध केही अधिवक्ताहरूले साउन २७ गते पत्रकारमाथि गरेको आक्रमणको विरोधस्वरूप धर्ना आयोजना गरिएको महासंघ प्रदेश समितिका अध्यक्ष श्याम बञ्जाराले बताए । धर्नामा सहभागी पत्रकारहरूले आक्रमणकारी वकिललाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
उक्त घटनामा महासंघ मधेशका महासचिव शैलेन्द्र महतोको खुट्टा भाँचिएको, पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको, अनिल निरालाको आँखामा चोट पुगेको र महिला पत्रकारहरूमाथि आपत्तिजनक व्यवहार भएको बताइएको छ।
पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहका अनुसार गुठी संस्थानसँग लिजमा लिएर संरक्षण गर्न लागिएको जग्गा आफ्नो मातहत रहेको दाबी गर्दै वकिलहरूले विवाद सिर्जना गरी पत्रकारमाथि आक्रमण गरेका थिए। तर, प्रहरी प्रशासनले अहिलेसम्म दोषीलाई पक्राउ नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे।
अध्यक्ष श्यामप्रसाद बञ्जाराले आक्रमणकारीविरुद्ध किटानी जाहेरी दर्ता गराएपनि स्थानीय प्रशासनले बेवास्ता गरेको भन्दै चेतावनीस्वरूप धर्ना दिएको स्पष्ट पारे। उनले “देशव्यापी आन्दोलन नहोस् भन्ने उद्देश्यले अहिले शान्तिपूर्ण धर्ना गरिएको हो, तर दोषीमाथि कारबाही नभए आन्दोलनलाई कडा रूप दिइनेछ” भने।

धर्नामा सहभागी पत्रकारहरूले ‘आक्रमणकारीलाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रताको रक्षा गर’, ‘पत्रकारलाई सुरक्षा देऊ’ भन्ने नारासहितका प्लेकार्ड बोकेका थिए। कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, वरिष्ठ पत्रकार बीएम खनाल, महासंघ प्रदेशका सल्लाहकार अवधेश झा, केन्द्रीय परिषद सदस्य श्रीनारायण साह, प्रकाशक संघका अध्यक्ष शंकर प्रसाद साहलगायतका वक्ताहरूले आक्रमणकारीलाई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका थिए।
गत शुक्रबार महासंघ प्रदेश अध्यक्ष बञ्जाराले जनकपुरधाममा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र समेत बुझाएका थिए।



