जनकपुरधाम, ३ भदौ । नेपाली उपभोक्ताको दैनिक भान्सामा आवश्यक पर्ने हरियो तरकारी उत्पादन देशमै पर्याप्त हुन नसक्दा भारतीय तरकारीमा निर्भरता बढ्दो क्रममा छ । विशेष गरी मधेश प्रदेशका धनुषा र महोत्तरी जिल्लामा अपेक्षित मात्रामा तरकारी उत्पादन हुन नसक्दा हरेक वर्ष ठूलो मात्रामा विदेशी तरकारी नेपाल भित्रिने गरेको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा मात्र भिठामोड नाकाबाट ३३ हजार ८८७ मेटिूक टन हरियो तरकारी नेपाल आयात भएको छ, जसको मूल्य करिब ७५ करोड ५२ लाख ८८ हजार रुपैयाँ रहेको क्वारेन्टाइन कार्यालय भिठामोडले जनाएको छ । कार्यालयका प्रमुख किशोर कुमार यादवका अनुसार भारतको विभिन्न क्षेत्रबाट करिब २० प्रकारका तरकारी(काउली, बन्दाकोपी, फर्सी, गोलभेडा, भण्टा, खुसार्नी, परवल, काक्रो, भिण्डी, करेला लगायतका तरकारी भिठामोड हुँदै नेपाल ल्याइएका छन् ।
धनुषा(महोत्तरीका किसानहरुले उत्पादन गर्ने तरकारी बजारमा पुगे पनि आवश्यकताअनुसार आपूर्ति गर्न नसक्दा व्यापारीहरूले भारतीय तरकारी भित्र्याई बजार धान्ने गरेका छन् । यसले एकातर्फ उपभोक्ताको दैनिक आवश्यकता पूरा गरे पनि अर्कोतर्फ नेपाली किसानको उत्पादन र लगानीलाई दबाउने गरेको किसानहरुको गुनासो छ । उनीहरूको भनाइमा, लगानीअनुसारको प्रतिफल नपाउँदा किसान निराश बन्दै गएका छन्, जसको सीधा असर देशको व्यापार घाटामा पर्छ ।
किसानहरुको तर्क छ(“स्थानीय उत्पादनलाई प्राथमिकता नदिई बाहिरबाट आयातलाई बढावा दिँदा कृषकहरू निरुत्साहित भएका छन् । आयातको प्रतिस्पर्धामा हाम्रो उत्पादन कमजोर ठहरिँदा देश आत्मनिर्भर बन्न सकिरहेको छैन ।”
कृषि विज्ञहरूको भनाइमा पनि सरकारले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने नीति कार्यान्वयन नगरेसम्म समस्या समाधान हुन सक्दैन । उनीहरूका अनुसार मलखाद, बीउ(विजन, सिंचाइ सुविधा, भण्डारण तथा बजार व्यवस्थापनमा सुधार ल्याइए मात्र नेपाली किसान तरकारीमा आत्मनिर्भर बन्न सक्नेछन् ।
नेपाल जस्तो कृषिप्रधान देशमा तरकारी जस्तो आधारभूत उपभोग्य वस्तुका लागि विदेशी बजारमा निर्भर रहनु विडम्बना हो । त्यसैले आत्मनिर्भरता हासिल गर्न किसानलाई प्रोत्साहन, सहुलियत र संरचनागत सुधारमा सरकारले गम्भीर पहल लिनुपर्ने आवश्यकता बढ्दै गएको छ ।



