जनकपुरधाम ४ भदौ । नेपाल बार एसोसिएसन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच लामो समयदेखि चलेको जग्गा विवाद अन्ततः समाधान भएको छ।
मंगलबार दुबै संस्थाले एक मिलापत्रमा हस्ताक्षर गरेसँगै विवाद टुंगिएको हो। सम्झौताअनुसार जनकपुरधामस्थित गुठी संस्थानबाट लिजमा लिइएको जग्गा दुवै संस्थाले बाँडफाँट गरी प्रयोग गर्ने सहमति भएको छ।
जनकपुर बारले आफ्ना सदस्यहरूको सवारीसाधन पार्किङका लागि उक्त जग्गा भाडामा प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। सम्झौताअनुसार बाटो बाहेक ४१ फिट चौडाइ र ९० फिट लम्बाइ भएको क्षेत्रफल पार्किङका लागि बारलाई उपलब्ध हुनेछ।यस्तै, नेपाल पत्रकार महासंघले गुठी संस्थानलाई तिर्नुपर्ने वार्षिक तीन लाख एक हजार रुपैयाँ भाडा बारले प्रयोग गर्ने जग्गाको अनुपातमा बुझाउने सहमति भएको छ। बाँकी जग्गामा पत्रकार महासंघले बहुउद्देश्यीय भवन निर्माण गर्नेछ।
मिलापत्रमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएसन, जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रले हस्ताक्षर गरेका छन्। दुवै पक्षले विगतका घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, सामाजिक सञ्जालमार्फत एकअर्काविरुद्ध आलोचना नगर्ने र दुई दिनभित्र एकअर्काविरुद्धका कानुनी कारबाही फिर्ता लिने वा निष्क्रिय बनाउने प्रतिबद्धता समेत जनाएका छन्। यसअनुसार, बारले उच्च अदालत जनकपुरमा दायर गरेको रिट र महासंघले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी दुवै फिर्ता लिनेछन्।
यो सहमतिलाई सफल बनाउन दुवै संस्थाले गठन गरेका उच्चस्तरीय वार्ता समितिहरूले महत्त्वपूर्ण भूमिका खेले। पत्रकार महासंघतर्फबाट केन्द्रीय लेखा समितिका संयोजक के.सी. लामिछानेको नेतृत्वमा मिशन टोली सक्रिय रह्यो, जसमा केन्द्रीय सदस्यद्वय राजेश कर्ण र राजु विश्वकर्मा थिए। बारतर्फबाट भने केन्द्रीय सचिव बाबुराम अर्यालको संयोजकत्वमा वरिष्ठ अधिवक्ता चन्द्रकुमार शर्मा मैनाली र श्यामकुमार मिश्र सदस्यका रूपमा सहभागी थिए।
सहमति पश्चात् दुबै संस्थाका अध्यक्षले आगामी दिनमा समझदारीपूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। यस मिलापत्रले पेशागत संस्थाबीचको विवादलाई संवाद र सहमतिको बाटोबाट समाधान गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।



