जनकपुरधाम, ५ भदौ । गौर काण्डको विषय पुनः तातिन थालेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध सरकारले योजनाबद्ध रुपमा फसाउन खोजेको आरोपसहित सुरु भएको आन्दोलन चौथो दिन पनि देशभर विरोध प्रदर्शन गरेको छ । आन्दोलन अब केवल मधेशसम्म सीमित छैन; राजधानी काठमाडौंदेखि तराई–मधेशका विभिन्न जिल्लासम्म यसको लहर फैलिइरहेको छ ।
अहिलेसम्मको आन्दोलन शान्तिपूर्ण तर प्रभावकारी रहेको जसपा नेपालका नेताहरूले बताएका छन् । तर यदि सरकार र न्यायालयले उचित ध्यान नदिए आन्दोलनलाई अझै तिव्र बनाइने चेतावनी दिइएको छ ।
जनकपुरमा आयोजित आमसभामालाई सम्बोधन गर्दै जसपा नेताहरुले भने, “यो केवल उपेन्द्र यादवको मुद्दा होइन। यो मधेशको सम्मान र अस्तित्वको प्रश्न हो । सरकार सजग नभए आन्दोलन अझै व्यापक बनाइनेछ ।”
आमसभालाई प्रदेश साँसद रामअशिष यादव, जिल्ला अध्यक्ष पशुपति यादव, जसपा नेता जितेन्द्र यादव, विष्णु साह, रामशंकर पासमान सहितले सम्बोधन गरेका थिए ।

सर्वोच्च अदालतले हालै गौर काण्डबारे छानबिन गर्न परमादेश जारी गरेलगत्तै जसपा नेपालको नेतृत्व तहदेखि तल्लो संरचनासम्म आक्रोशित बनेको छ । उनीहरूका अनुसार गौर काण्डको निहुँ बनाई सरकार र विपक्षी शक्तिहरू मिलेर अध्यक्ष यादवलाई कमजोर पार्ने रणनीति अघि बढाइएको छ ।
आन्दोलनको चौथो दिन राजधानी काठमाडौंको सडक पनि जसपा कार्यकर्ताले भरिएको देखियो । समाजवादी महिला संघको अगुवाइमा सिंहदरबार नजिकै भेला भएका कार्यकर्ताले सरकारविरुद्ध कडा नाराबाजी गर्दै प्रदर्शन गरेका छन । उनीहरूका प्लेकार्डमा लेखिएका नाराहरूमा स्पष्ट थियो — “उपेन्द्र यादवलाई फसाउने षड्यन्त्र बन्द गर”, “न्यायोचित छानबिन गर, राजनीतिक प्रतिशोध बन्द गर”।
महिला संघकी नेतृ सावित्री देवीले भनिन्, “भूमि विधेयकमा अध्यक्ष यादवले देखाएको अडानकै कारण आज उनलाई राजनीतिक खेलको मैदानमा तानिएको हो ।”
मधेशमा आक्रोश
मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि विरोध प्रदर्शनमा भीड उर्लिएको थियो । दलका विभिन्न तहका कार्यकर्ता, युवाहरु र बुद्धिजीवीहरू सडकमा उत्रिए । प्रदर्शनकारीहरूले शहरभर ¥याली निकाल्दै सरकारविरुद्ध आक्रोश पोखे ।
त्यसैगरी, वीरगंज, सिरहा, सप्तरी, रौतहट लगायत जिल्लामा पनि जसपा समर्थकले एकैपटक विरोध प्रदर्शन गरे। वीरगंजको घण्टाघर चोकमा आयोजित विरोध सभामा स्थानीय नेताहरूले सरकारले गरिरहेको चाललाई ‘नयाँ प्रकारको राजनीतिक प्रतिशोध’ को संज्ञा दिए ।
सरकारमाथि आरोप
जसपा नेपालका कार्यकर्ताले हालको राजनीतिक परिस्थितिसँग गौर काण्डलाई जोडेर बुझ्ने प्रयास गरेका छन् । उनीहरूको भनाइ छ — भूमि विधेयक संसद्मा प्रस्तुत हुँदा अध्यक्ष यादवले त्यसलाई अस्वीकार गर्दै असहयोग गरेका कारण सरकार र ठूला दलहरूले उनको राजनीतिक जीवनलाई नै खतरामा पार्ने योजना बुनेका छन् ।
सिरहाका एक युवा नेता रामविलास यादवले भने, “यादवजीले आफ्नो समुदायको पक्षमा ठाडो आवाज उठाए । तर ठूला दललाई यो कुरा मन परेन । त्यसैले गौर काण्ड पुनः खोल्ने नाममा उनीविरुद्ध राजनीतिक खिचातानी भइरहेको छ ।”
राष्ट्रिय राजनीतिक चर्चा
यो विषय केवल जसपा वा मधेश प्रदेशमै सीमित रहेन । अहिले काठमाडौंमा हुने प्रत्येक राजनीतिक छलफलमा उपेन्द्र यादवलाई फसाउन खोजिएको हो कि होइन भन्ने प्रश्न उठ्न थालेको छ । प्रमुख दलहरूबीच पनि यसबारे मतभेद देखिएको छ ।
सत्तापक्ष नजिक रहेका नेताहरूले “न्यायिक प्रक्रिया अघि बढ्नुमा केही गलत छैन” भन्ने तर्क गरेका छन् भने प्रतिपक्ष र स्वतन्त्र विश्लेषकहरूले “छानबिनको नाममा एक व्यक्तिलाई लक्षित गरेर राजनीतिक असन्तुलन सिर्जना गर्ने प्रयास” भएको आरोप लगाएका छन्।

