काठमाडौं ७ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आगामी घण्टामा देशभर वर्षाको गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ । आज राति यी प्रदेशमा साधारणतया बदली रहने र कतिपय स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशको तराई भू-भाग र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ । त्यस्तै, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा समेत भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसमविद्हरूका अनुसार, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुन क्रियाशील बनेको हो । देशका अधिकांश भू–भागमा साधारणतया बदली रहने र तराईका केही क्षेत्रमा वर्षा हुने सम्भावना रहेको बताइएको छ ।



