जनकपुरधाम, ८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले आइतबार जनकपुरधाममा भव्य विरोध प्रदर्शन गर्दै कोणसभा सम्पन्न गरेको छ । जनकचोकबाट सुरु भएको प्रदर्शन भानुचोक, कदमचोक, विद्यापति चोक हुँदै पुनः जनकचोकमा आइपुगेको थियो, जहाँ हजारौं कार्यकर्ता सहभागी भई कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा जसपा नेता तथा कार्यकर्ताहरूले “भूमि विधेयक फिर्ता लेउ”, “झुठा मुद्दा खारेज गर”, “मधेशमाथि षड्यन्त्र बन्द गर” जस्ता नाराबाजी गर्दै सरकारलाई कडा चेतावनी दिएका थिए । उनीहरूले मधेशका अधिकारमाथि सरकारले योजनाबद्ध रूपमा प्रहार गरिरहेको भन्दै असन्तोष प्रकट गरेका थिए ।

नेताहरूको भनाइमा, भूमि विधेयकमार्फत मधेशलाई औपनिवेशिकरण गर्दै मरुभूमिमा रूपान्तरण गर्ने योजनाअनुरूप काम भइरहेको छ । यसैबीच, जसपा अध्यक्ष उपेन्द्र यादवलाई १८ वर्ष पुरानो गौर घटनामा फसाउन राज्य संयन्त्र सक्रिय भएको आरोप पनि लगाइएको छ ।
कोणसभालाई सम्बोधन गर्ने क्रममा जसपा नेपालका नेता कार्यकर्ताहरूले मधेशमाथि भइरहेको षड्यन्त्र तत्काल बन्द नगरिए कडा आन्दोलनमा जाने चेतावनी दिएका थिए । उनीहरूले मधेशको हक अधिकार र अस्तित्वको रक्षा गर्न अब कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता जनाएका थिए ।

यसअघि भूमि विधेयकमा असहमति जनाउँदै जसपाले संसद्मा विरोध जनाएको थियो । तर सरकार त्यसको प्रतिशोधस्वरूप अध्यक्ष यादवमाथि झुट्टा मुद्दा थोपर्ने षड्यन्त्रमा लागेको भन्दै जसपा आक्रोशित बनेको छ ।
जनकपुरधाममा भएको यस प्रदर्शनलाई मधेशका जनताले व्यापक समर्थन जनाएका थिए भने सडकभर नाराबाजी र जसपा कार्यकर्ताको भीडले जनकपुरधाम राजनीतिको केन्द्र बनेको अनुभूति गराएको थियो ।



