जनकपुरधाम, ९ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय महासचिव तथा पूर्व मधेश प्रदेश सांसद प्रमेश्वर साहले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयक मधेशको हितविपरीत रहेको आरोप लगाएका छन् ।
सोमबार सम्पन्न लोसपाको केन्द्रीय समिति बैठकपछि समाचार दैनिकसँग कुरा गर्दै महासचिव साहले भने, “मैले यस विधेयकलाई पूर्णरूपमा अध्ययन गर्ने मौका पाएको छैन, तर छोटकरीमा हेर्दा पनि यो मधेशका जनताको हितमा देखिँदैन ।”
लोसपाको बैठकमा केन्द्रीय महाधिवेशन, भूमि विधेयक, शिक्षा विधेयक तथा पछिल्ला दिनमा वीरगञ्ज क्षेत्रमा फैलिएको हैजा महामारीबारे विशेष छलफल गरिएको थियो । बैठकले हैजा नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न, बिरामीलाई उपचारमा कमी हुन नदिन सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको साहले जानकारी दिए ।
भूमि विधेयक र शिक्षा विधेयकलाई लिएर देशभरै आन्दोलन चलिरहेको स्मरण गराउँदै उनले लोसपा पनि गम्भीर अध्ययनपछि पार्टीगत धारणा सार्वजनिक गर्ने बताए । “हामी कुनै पनि नीतिगत विषयमा हतारमा निर्णय गर्ने पक्षमा छैनौं, तर मधेशका हकहितमा प्रतिकूल प्रावधान रह्यो भने कठोर कदम चाल्नुपर्छ,” उनले चेतावनी दिए ।
त्यसैगरी उनले देशको समग्र राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पार्टी निरन्तर रुपमा त्यसबारे छलफलमा रहेको जानकारी दिए । “हाम्रो पार्टीले राष्ट्रिय मुद्दामा गम्भीर बहस र अध्ययन गरेर मात्र रणनीति तय गर्नेछ,” साहले भने ।
यसरी लोसपाको बैठकले मधेशसँग प्रत्यक्ष सरोकार राख्ने भूमि र शिक्षा सम्बन्धी विधेयकलाई प्राथमिकतामा राख्दै सरकारको नीति तथा कामकारवाहीलाई चुनौती दिएको छ । हैजाको महामारी नियन्त्रण, शिक्षा र भूमिसम्बन्धी अधिकार सुनिश्चिततामा पार्टीको सक्रियता देखिन थालेको टिप्पणी गरिएको छ ।



