जनकपुरधाम, १५ भदौ । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले नेपाल–भारत सम्बन्धलाई राजनीतिक वा कूटनीतिक सीमाभन्दा माथिको, वैवाहिक, धार्मिक, सांस्कृतिक र सामाजिक आत्मीयतामा आधारित सम्बन्ध भएको बताएका छन्।
शनिबार बीरगञ्जमा आयोजित “इण्डो–नेपाल क्रस–बोर्डर मिडिया कन्क्लेभ”को उद्घाटन गर्दै मन्त्री चौरसियाले अंग्रेज शासनविरुद्धको आन्दोलनमा नेपाल–भारतबीचको सहकार्यको ऐतिहासिक पक्ष स्मरण गर्दै दुवै मुलुकले सुख–दुःखका घडीमा सदैव साथ दिएको बताए। “कहिलेकाहीँ सीमा वा सुरक्षा विषयमा तनाव भए पनि त्यसलाई सकारात्मक वातावरणमार्फत सहज बनाउन पत्रकारको भूमिकाले महत्त्व राख्छ,” उनले भने।

उनी अनुसार सीमासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकारहरूले सत्यतथ्यप्रति प्रतिवद्ध रहनुपर्छ, किनकि जनसाधारणमा पत्रकारितामाथि सबैभन्दा बढी विश्वास हुने गरेको छ। वातावरणीय संकटको सन्दर्भमा उनले जलवायु परिवर्तन र चुरे विनाशको असर प्रत्यक्ष रूपमा देखिन थालेको उल्लेख गर्दै दुवै मुलुकका पत्रकारले यस विषयमा पनि कलम चलाउनुपर्नेमा जोड दिए।
समापन सत्रमा खानेपानी मन्त्री प्रदीप यादवले नेपाल–भारत सम्बन्धलाई “रोजीरोटी, बेटीरोटी र बहुआयामिक सम्बन्ध” को रूपमा परिभाषित गर्दै यसलाई दिल्ली वा काठमाडौंको राजनीतिक चश्माबाट मात्रै नहेर्न आग्रह गरे। उनले दुवै मुलुकका नागरिक आफैं सीमाको सुरक्षा गर्ने स्तरमा रहेको उल्लेख गर्दै पत्रकारिताले सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा पूर्वराजदूत विजय कान्त कर्णले नेपाल–भारत सम्बन्धलाई अद्वितीय आत्मीय सम्बन्धको उदाहरणका रूपमा प्रस्तुत गर्दै यसलाई सुदृढ बनाउन पत्रकारको जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गरे। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारितालाई “शान्ति र सहकार्यको पुल” का रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै सीमासम्बन्धी विवादलाई समाधानमुखी ढंगले सम्प्रेषण गर्न आग्रह गरे।
वरिष्ठ पत्रकार हस्त गुरुङले संवेदनशील समाचार लेखनमा सतर्कता आवश्यक रहेको बताउँदै समाचारको शैलीले पनि विश्वास निर्माण गर्ने शक्ति राख्ने विचार राखे।
कार्यक्रममा दुवै देशका पत्रकारहरूले संयुक्त रिपोर्टिङको अभ्यास गर्नुपर्ने धारणा व्यक्त गर्दै, गलत वा अपुष्ट समाचारका कारण उत्पन्न हुने संवेदनशीलतालाई कम गर्न सूचना संयन्त्रको विकास आवश्यक रहेको सुझाव दिए।
मिडिया फोर–बोर्डर हार्मोनीका अध्यक्ष अनिल तिवारीको अध्यक्षता र रितेश त्रिपाठीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्त्यमा १७ बुँदे “बीरगञ्ज घोषणापत्र” जारी गरिएको छ। उक्त घोषणाले नेपाल–भारतबीच पत्रकारितामार्फत सहकार्यलाई संरचनागत र परिणाममुखी बनाउन मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

