जनकपुरधाम, १७ भदौ । मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधामले आर्थिक वर्ष २०८१÷०८२ मा ३४ लाख २५ हजार ५ सय ३० रुपैया मूल्य बराबरको माछाको भुरा र खाने माछा बिक्री गरेको छ ।
नेपालमा उत्पादन हुने माछा मध्ये मधेश प्रदेशमा ५० प्रतिशत माछा यहाँबाट उत्पादन हुने गरेको छ । नेपालमा हाल वार्षिक रुपमा उत्पादन हुने १ लाख ४ हजार मे.टन माछा मध्ये मधेश प्रदेशमा मात्र ५३ हजार मे.टन माछा उत्पादन हुने गरेको छ ।
माछाको उत्पादन बढेपनि किसानहरुले लागत अनुसारको मूल्य पाउन सकेको छैन । माछा व्यवसायी संघका अध्यक्ष जंग बहादुर साहले मधेश प्रदेशलाई माछा पर्यटनको रुपमा विकास गर्न तीनै तहको सरकार गम्भीर हुनुपर्ने बताए ।
अहिल देशभरि जिउँदो माछाको माँग बढेको छ । मधेश प्रदेशमा नेपालको कूल उत्पादन मध्ये ६० प्रतिशत माछा उत्पादन भएपनि यहाँको माँगलाई धान्न सकिरहेको छैन । केन्द्रले अघिल्लो आर्थिक वर्षमा ४ करोड, ७५ लाख ५० हजार वटा ह्याचलिंग भुरा, ३२ लाख ६० हजार ४४० वटा फ्राई भुरा, १२ लाख ६२ हजार ३५७ वटा फिंगलिंग भुरा तथा २ हजार ९१ किलो खानेमाछा बिक्री गरेको छ ।
माछा क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालित केन्द्रबाट उत्पादित माछाका भुरा अधिराज्यका १४ जिल्लामा जाने गरेको प्रमुख रविलाल शर्माले बताए । ३० जिल्लाका किसान तथा प्राविधिहरुलाई १२ पटक तालिम दिई सकेको छ । ४० वर्ष पुरानो सो केन्द्रमा जनशक्तिको कमी भौतिक तथा उत्पादन मुलक पूर्वाधार जीर्ण अवस्थामा रहेको छ । केन्द्रले चालु आर्थिक वर्षदेखि थाइल्याण्डबाट पंगास माछाको भुरा मगाएर माछा उत्पादन गर्ने नीति लिएको छ ।

