जनकपुरधाम, १८ भदौ । जनकपुरधामस्थित राराबा क्याम्पसका प्रमुख बसन्त कर्णले आफू क्याम्पस सुधारका लागि अघि बढ्दा केही व्यक्तिहरुले षड्यन्त्रपूर्वक विभिन्न आरोप लगाएको दाबी गर्नुभएको छ ।
बुधबार पत्रकार सम्मेलन गरी उहाँले क्याम्पसका कार्यालय सहयोगी रास बिहारी खत्बेले जातीय छुवाछुत र भेदभावको उजुरी दर्ता गराए पनि ती आरोपहरू निराधार रहेको स्पष्ट पार्नुभयो ।
कर्णका अनुसार, जिल्लास्थित प्रहरी कार्यालय, इन्सेक मधेश प्रदेश र राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता गरिएका उजुरीहरू आधारहीन हुन् । “२४ वर्षदेखि क्याम्पसमा कार्यरत खत्बेसँग हामी नियमित रूपमा पानी, चिया र नास्ता खाने गर्छौं । केही कर्मचारी र शिक्षकहरूले मेरो कार्यशैली सहन नसकेर यस्तो हर्कत गरेका हुन्,” उहाँले बताउनुभयो ।
प्रेस विज्ञप्तिमा कर्णले कार्यालय सहयोगी खत्बेलाई कार्यसम्पादनसम्बन्धी असमझदारीका कारण अस्थायी रूपमा अन्य फाँटमा तोकिएको तर त्यो कदम दलित पहिचान वा सामाजिक पृष्ठभूमि हेरी नभएको उल्लेख गर्नुभएको छ । “स्थिति सामान्य भएपछि उनलाई पुनः सोही फाँटमा पठाउन सकिन्छ,” उहाँले स्पष्ट पार्नुभयो ।
यता कार्यालय सहयोगी खत्बेले भने क्याम्पस प्रमुखबाट आफू जातीय भेदभावको शिकार भएको दाबी गरेका छन् । उनले प्रमुखले विभिन्न कोठामा प्रवेश रोक्नुका साथै कर्मचारीहरूको समूहमा बस्न नदिने व्यवहार गरेको आरोप लगाएका छन् ।
गत भदौ ५ गते प्रमुखले आफूलाई “तिमी दलित भएकाले कोठा छुइन्छ” भन्दै अपमान गरेको समेत खत्बेले बताएका छन् । उनले मुलुकी अपराध संहिता २०७४ को दफा १६० र ऐन १७६ अनुसार छुवाछुत र अपमानजनक व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा कडा कारबाही र क्षतिपूर्ति माग गर्दै उजुरी दर्ता गराएका छन् ।

