जनकपुरधाम, १९ भदौ । हंसपुर नगरपालिकामा बजेट पारित नहुँदा विकास, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिजस्ता क्षेत्रमा गम्भीर समस्या उत्पन्न भएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नगर कार्य समितिले २४ बुँदे मागपत्र सार्वजनिक गरेको छ ।
स्थानीय सरकारले सहकार्य, सहअस्तित्व र जनसहभागितामार्फत पारदर्शी सेवा दिने उद्देश्यले हंसपुर नगरपालिकाको स्थापना भए पनि, आ.व. २०८२÷८३ को नीति, कार्यक्रम र बजेट हालसम्म पारित नहुँदा जनजीवन प्रभावित भएको लोसपाले आरोप लगाएको छ । सुख्खाग्रस्त घोषणा गरिए पनि राहत नपुगेको, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बेथिति बढेको, भ्रष्टाचार व्यापक रहेको, खानेपानी र सिचाइ अभावले कृषक मारमा परिरहेकोजस्ता समस्यालाई लिएर लोसपाले खबरदारी तथा संकेतिक कार्यक्रमसमेत गरेको छ ।

लोसपाले सामाजिक सुरक्षा भत्ता र बालबालिकाको पोषण भत्ता तत्काल वितरण गर्न, विद्यालय र विद्यार्थीलाई अनुदान रकम उपलब्ध गराउन, स्वास्थ्य क्षेत्रका चुनौती समाधान गर्न, कर्मचारी तलब–सुविधा सुनिश्चित गर्न र खानेपानी संकट तत्काल हटाउन माग गरेको छ । साथै, किसानलाई निःशुल्क विद्युत र सिचाइ सुविधा उपलब्ध गराउन, धानबालीमा भएको क्षतिपूर्ति दिन, चुरे क्षेत्रमा भइरहेको अवैज्ञानिक उत्खनन रोक्न र नगरपालिकाभित्रका नदी–नाला, ताल–तलैया जिर्णोद्धार गर्नुपर्ने मागसमेत अघि सारिएको छ ।
मागपत्रमा नगर प्रमुखको व्यक्तिगत खर्चमा जनताको कर दुरुपयोग नगर्नु पर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र सूचना अधिकार सुनिश्चित गर्नुपर्ने चेतावनीसमेत दिइएको छ ।
लोसपाले आफ्नो २४ बुँदे मागपत्रको प्रतिलिपि मधेश प्रदेश सरकार, जिल्ला समन्वय समिति धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषालाई समेत बुझाएको जनाएको छ ।

