वरिष्ठ साहित्यकार एवं प्रोफेसर परमेश्वर कापडिद्वाराÞ लिखित मैथिली नाटक ‘रेङ–रेङ’ समकालीन समाजको गहिरो यथार्थलाई हास्य–व्यङ्ग्यको आवरणभित्र प्रस्तुत गर्ने एक उत्कृष्ट नाट्य–कृति हो । सतही रूपमा हेर्दा यो हल्का–फुल्का संवाद र पात्रहरूको रमाइलो टकरावले भरिएको लाग्छ, तर ध्यानपूर्वक अवलोकन गर्दा यसले समाजको मूल पीडा—गरिबी, बेरोजगारी, भ्रष्टाचार र मूल्य–संकटलाई धारिलो ढंगले उजागर गरेको देखिन्छ । वर्तमानलाई हेर्दा नेपालको वस्तुस्थितिमाथि आधारित छ ।
कथा संरचना र नाट्य प्रवाह
नाटकको सुरुआत एउटा ढलेको दलान, जीर्ण भवनमा हुन्छ, जसलाई नाटक अभ्यास गर्ने कलाकारहरूको अस्थायी रंगशाला बनाइएको छ । यो भौतिक दृश्य नै प्रतीकात्मक हो—जसरी पुरानो दलान भत्किएर टुक्रा–टुक्रा भएको छ, त्यसरी नै हाम्रो समाजको संरचना पनि विखण्डित र संकटग्रस्त बनेको छ ।
दलानभित्र कलाकारहरूको आपसी संवाद, झगडा, प्रेम–प्रसङ्ग, पैसाको खोजी र आयोजक–प्रायोजकप्रतिको आक्रोशलाई लेखकले क्रमशः प्रस्तुत गरेका छन् । सुरुआती दृश्यमा हल्का–फुल्का व्यङ्ग्य, मोबाइलमा डुबेका युवा, रिहर्सलको आलस्यले दर्शकलाई हसाउँछ । तर बीचमा श्रीधरम र अनवरबीचको गम्भीर बहस आउँछ, जसले बेरोजगारी, राजनीतिक अन्याय र कला–संस्कृतिप्रतिको उपेक्षाको विषय उठाउँछ ।
नाटक अन्त्यतिर पुग्दा लक्ष्मीदेवीको प्रतीकात्मक अवतरण हुन्छ । धन र असर्फी देख्ने बित्तिकै कलाकारहरूको चेत, नैतिकता र मूल्यको नकाब भत्किन्छ र तिनीहरू आपसमा छिनाझपटीमा लाग्छन् । यही बिन्दुमा लेखकले समाजको अन्तिम सन्देश दिएका छन—“सब रोगको जड गरीबी हो ।”
नाटकका प्रमुख विषयवस्तु
१. गरीबी : मूल रोग
नाटकले स्पष्ट रूपमै देखाएको छ—समाजमा व्याप्त सबै प्रकारका अपराध, भ्रष्टाचार, असमानता र मानसिक संकटको मूल जड गरीबी हो । कलाकारहरू रिहर्सलमा जुटे पनि भोकै हुन्छन्, प्रायोजनको खोजी गर्छन् तर पाउँदैनन् । अन्ततः लक्ष्मी देखिएपछि उनीहरू लोभमा फस्छन् । गरीबीकै कारण नै मूल्य, नैतिकता र चेतनाको क्षय हुन्छ भन्ने निष्कर्ष नाटकले दिन्छ ।
२. कलाकार र कला–संस्कृतिको उपेक्षा
लेखक स्वयं साहित्यकार एवं रंगकर्मी भएकाले उनले कलाकारको पीडा नजिकबाट भोगेका छन् । नाटकभर कलाकारहरू निधि अभाव, आयोजकको धोका, सरकारको बेवास्ता र समाजको उपेक्षाले पीडित देखिन्छन् । संस्कृतिको रक्षार्थ लागेका रंगकर्मी आफैं दिनदिनै संघर्षरत छन् । यो प्रश्न केवल नाटककै नभई हाम्रो सम्पूर्ण सांस्कृतिक चेतनासँग जोडिन्छ ।
३. हास्य र व्यङ्ग्यको धार
नाटकको सबैभन्दा ठूलो बल भनेको यसको हास्य–व्यङ्ग्यात्मक प्रस्तुति हो । मोबाइलमै डुबेका पात्र, “नो टेन्सन” भन्ने संवाद, आयोजकको खोक्रो भाषण, लक्ष्मीलाई देख्ने बित्तिकै पात्रहरूको स्वर बदलिनु—यी सबैले दर्शकलाई हसाउँछन् । तर हाँसोभित्रै गहिरो पीडा र प्रश्न लुकेको हुन्छ, जुन वास्तविक जीवनसँग सीधा टाँसिएको छ ।
४. मूल्य–संकट र धनप्रेम
नाटकको उत्कर्षबिन्दु लक्ष्मीको प्रवेश हो। प्रारम्भमा कलाकारहरूले लक्ष्मीको उपहास गरेका हुन्छन्, तर धन वर्षा भएपछिमात्र उनीहरू आपसमा लडाइँमा उत्रिन्छन्। यही दृश्यले समाजमा पैसाप्रतिको अन्धो आकर्षण, मूल्य र संस्कृतिको क्षय, र मानवीय सम्बन्धको विखण्डनलाई शक्तिशाली ढंगले चित्रण गर्छ।
पात्रहरूको चरित्रचित्रण
श्रीधरम : प्रश्न उठाउने, समाजप्रति सजग र गम्भीर पात्र। उसको संवादले नाटकलाई गहिराइ दिन्छ ।
अनवर : उदासीन देखिए पनि अन्ततः जोश र विद्रोही भाव बोकेको पात्र । उसको आवाजमा पीडित जनताको स्वर झल्किन्छ ।
अक्षरा र हमाल : मोबाइल–प्रेमी पुस्ताका प्रतिनिधि, जसरी आजका युवाहरू आभासी दुनियाँमा हराइरहेका छन् ।
लक्ष्मी : प्रतीकात्मक पात्र। उसको प्रवेशले लोभ, नैतिकता र मूल्यसंकटको वास्तविक रूप दर्शक सामु ल्याउँछ।
यी पात्रहरू स्वाभाविक संवाद र व्यवहारमार्फत् समाजका विभिन्न वर्ग र प्रवृत्तिको प्रतिविम्ब बनेका छन्।
भाषा र शैली
नाटकको भाषा सरल, बोलचालमै आधारित र व्यङ्ग्यले भरिपूर्ण छ । “आइ–कार्ड”, “मोबाइल”, “नो टेन्सन” जस्ता शब्दहरूले समकालीन जीवनशैलीलाई सजीव रूपमा प्रस्तुत गर्छ। ग्रामीण बोली, ठट्यौली र आधुनिक शब्दहरूको मिश्रणले भाषालाई जीवन्त बनाएको छ । व्यङ्ग्यको धार यति तिखारिएको छ कि दर्शक हाँस्दै–हाँस्दै गहिरो सोचमा डुब्छ ।
सन्देश र प्रासंगिकता
“रेङ–रेङ” केवल हाँसाउने नाटक होइन; यसले हाम्रो समाजको मूल संकटलाई औंल्याउँछ। कलाकारहरू संघर्षरत छन्, समाज उपेक्षी छ, राजनीतिले मूल्य खाइरहेको छ, र जनता गरिबीमा जकडिएका छन्। यी सबै प्रश्न आज पनि उत्तिकै प्रासंगिक छन्। लक्ष्मीको प्रवेशपछि पात्रहरूमा देखा परेको लोभ र छिनाझपटी त हाम्रो दैनन्दिन जीवनकै चित्र हो ।
लेखक कापडि़को “रेङ–रेङ” मैथिली रंगमञ्चमा थपिएको महत्त्वपूर्ण कडी हो । यसले हास्य र व्यङ्ग्यलाई आधार बनाएर समाजको कठोर यथार्थ उजागर गरेको छ । गरीबीलाई सबै रोगको मूल कारण ठहराउँदै यसले मूल्यसंकट, कला–संस्कृतिप्रतिको उपेक्षा, र पैसाको अन्धविश्वासलाई कठोर आलोचना गरेको छ ।
यो नाटक हाँसो–ठट्यौलीले दर्शकलाई रमाइलो गराउँछ, तर अन्ततः गहिरो प्रश्न सोधेर छोड्छ—के हामी केवल पैसाको लोभमा सबै मूल्य र चेतनालाई बेच्न तयार छौं?
यस अर्थमा “रेङ–रेङ” मनोरञ्जन मात्र होइन, समाजलाई ऐना देखाउने दर्पण पनि हो।

