जनकपुरधाम, २८ भदौ । माओवादी द्वन्द्वकालदेखि सुरक्षाको कारण देखाएर बन्द गरिएका महोत्तरी जिल्लाका चारवटा छोटी भन्सार कार्यालय अझै सञ्चालनमा नआएपछि साना तथा फुटकर व्यवसायी मारमा परेका छन् ।
रघुनाथपुर, कटिकटैया, पोखरभिण्डा र बथनाहा भन्सार कार्यालय द्वन्द्व उत्कर्षमा पुगेको बेला असुरक्षाको कारणले बन्द गरिएका थिए । तर, द्वन्द्व समाप्त भएको धेरै वर्ष बितिसक्दा पनि यी कार्यालय सञ्चालनमा नआउँदा सरकारले लाखौँ रुपैयाँ राजस्व गुमाइरहेको छ भने स्थानीय व्यवसायी थप कठिनाइमा परेका छन् ।
बन्द भन्सारको लाभ उठाउँदै सीमावर्ती क्षेत्रका तस्करहरुले सामान लुकिछिपी नेपाल भित्र्याउने गरेको स्थानीयवासीको भनाइ छ । भारतीय सीमासँग जोडिएका यी भन्सार बिन्दु तत्काल सञ्चालन गर्नुपर्ने माग व्यापारीहरुले राखेका छन् । पछिल्लो समयमा तस्करी झन् बढेको र रोकथामको संयन्त्र कमजोर बनेको उनीहरूको गुनासो छ ।
मनराशिश्वाका व्यापारी देवेन्द्र साह भन्छन्, “भन्सार बन्द भएपछि चहलपहल नै घटेको छ, जसको असर बजारमा परेको छ । सामान ल्याउँदा सुरक्षाकर्मीले बारम्बार नियन्त्रण गर्ने भएकाले व्यवसाय गर्न गाह्रो भएको छ ।”
अर्का व्यापारी कपिलदेव बैठाले भन्सार बन्द भएपछि जीविकोपार्जनमै समस्या आएको बताए । उनका अनुसार सामान भन्सार कटाउन अहिले व्यापारीलाई करिब ५० किलोमिटर टाढा जलेश्वर पुग्नुपर्ने बाध्यता छ ।
जलेश्वर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र बस्नेतले भने, भन्सार ऐन सक्रिय भएपछि मात्र बन्द रहेका छोटी भन्सार कार्यालय सञ्चालनमा आउने जानकारी दिए ।
स्थानीय व्यापारीहरुका अनुसार, भन्सार नखुलेसम्म राजस्व चोरी, तस्करी र व्यवसायिक असुविधा अझै बढ्दै जाने छ । उनीहरुको माग छ — सरकारले चाँडै भन्सार सञ्चालन गरी व्यापारीलाई सहज वातावरण बनाइदियोस् ।

