जनकपुरधाम, ७ असोज । जनकपुरधाम उपमहानगरपालिकामा आन्तरिक विवाद चुलिएको छ । उपमहानगरपालिकाका उपमेयर किशोरी साहविरुद्ध कर्मचारीहरूले सार्वजनिक अपराध मुद्दा दायर गर्ने निर्णय गरेका छन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (सीएओ) मित्रलाल ढकालमार्फत मुद्दा अगाडि बढाउने तयारी गरिएको भण्डारण महाशाखा प्रमुख गणेश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आज मङ्गलवार कार्यालय समयमा कर्मचारीहरूले “कलम डाउन“ कार्यक्रमसमेत गर्ने निर्णय गरेका छन् ।
महाशाखा प्रमुख यादवले सोमबार घटस्थापनाको दिन घटेको घटनाको विवरण दिँदै भन्नुभयो– “सोमबार उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो । त्यो यात्राबाट फर्केर आएका कर्मचारीहरू थकित अवस्थामा आराम गरिरहेका थिए । त्यही बेलामा उपमेयर साह कार्यालय आइपुग्नुभयो र आफूलाई सम्मान नगरेको, आफ्नो आदेश नमान्ने गरेको भन्दै जथाभावी गाली गलोज गर्न थाल्नुभयो । जब कर्मचारीहरूले विरोध जनाउँदै ‘गल्ती नभएको अवस्थामा गाली किन गर्ने ?’ भने, उपमेयर साह झन् उग्रिएर कुर्सीसमेत उठाई कुटपिट गर्न तम्सिनुभयो ।”
यादवका अनुसार उपमेयर साह कार्यालय समयमा नियमित रूपमा उपस्थित नहुने, आउँदा समेत अधिनस्त कर्मचारीलाई जथाभावी गाली गर्ने प्रवृत्ति देखाउने गरेको आरोप छ । “पहिल्यै पनि यस्ता घटना पटक–पटक भएका थिए, तर यस पटक बर्दास्तभन्दा बढी भएकाले कानुनी बाटो अपनाउन बाध्य भयौँ,” यादवले भन्नुभयो ।
यस घटनाबारे प्रतिक्रिया दिँदै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पनि आफू उपमेयरको असभ्य व्यवहारबाट पीडित भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो–“उपमेयर साहले मलाई समेत पटक–पटक गाली गरेका छन् । अहिले स्थिति विकराल बनेको छ । दिउँसो ३ बजे बोर्ड मिटिङ बोलाइएको छ, त्यसको निर्णयलाई हामी मान्नेछौँ । तर म कर्मचारीको पक्षमा छु, किनभने उनीहरूमाथि बारम्बार अन्याय हुँदै आएको छ ।”
यसबीच, उपमहानगरपालिकाभित्रको यो विवाद सार्वजनिक भएपछि जनकपुरधामका राजनीतिक र सामाजिक वृत्तमा समेत चर्चा सुरु भएको छ । स्थानीय नागरिकहरूले निर्वाचित जनप्रतिनिधिबाट जनमैत्री व्यवहार र पारदर्शिता अपेक्षा गर्ने गर्दछन् । तर, सार्वजनिक संस्थाभित्रै अशिष्ट भाषा, अपमान र हिंसात्मक व्यवहार हुनु गम्भीर विषय भएको सरोकारवालाहरूको भनाइ छ ।

