जनकपुरधाम २९ असोज । जनकपुरधामको सामाजिक, धार्मिक र परोपकारी इतिहाससँग गहिरो सम्बन्ध राख्ने दानवीर रामस्वरुप रामसागरको परिवारमा मंगलवार विशेष धार्मिक कार्यक्रम सम्पन्न गरिएको छ । परिवारका सदस्यहरूले शतायु पार गर्न लागेकी रामरती देवी सुडीको दीर्घायु तथा सुस्वास्थ्यको कामनामा हनुमान आराधना गरी पूजापाठ गरेका छन् ।
विगत एक शताब्दीको जीवनयात्रा पूरा गर्दै गर्न लागेकी रामरती देवीको सम्मानमा आयोजित उक्त धार्मिक कार्यक्रममा छोरा प्रभाकर, दिवाकर र विद्याकर साहसहित परिवारका सदस्य तथा नातेदारहरूको उपस्थिति थियो । हनुमान आराधनासँगै परिवारजनले उहाँको योगदान र साधनायात्रालाई उदाहरणीय भन्दै शुभकामना व्यक्त गरेका थिए ।

वि.सं.१९८२ सालमा धनुषा जिल्लाको मिथिलेश्वर मौवाही गाउँपालिका–८ मा जन्म भएकी रामरती देवी सुडी जनकपुरधाममा विगत धेरै दशकदेखि समाजसेवा, गृहस्थ जीवन र धार्मिक अभ्यासमा सक्रिय रहिएकी छिन् । उहाँका पिता स्व. देव नारायण साह र माता लक्ष्मीनिया देवी थिए भने बाजेको नाम स्व. हरिचन साह थियो ।
रामरती देवीको वैवाहिक जीवन साविक धनुषा सोहनी मुजेलिया–३ (हाल जनकपुरधाम उपमहानगरपालिका–१४) मा बस्ने स्व. राम सागर साहका छोरा स्व. फुलगेन साहसँग सामाजिक परम्परा अनुसार सम्पन्न भएको थियो । वैवाहिक जीवनबाट उहाँलाई तीन छोरा र दुई छोरीसहित ठूलो परिवार प्राप्त भएको छ ।
छोराहरूमा जेठा प्रभाकर प्रसाद साह व्याहुत सुडी, माईला दिवाकर प्रसाद साह र कान्छा विद्याकर प्रसाद साह व्याहुत सुडी रहेका छन् । छोरीहरूमा स्व. विणा देवी (पति–स्व. भोला प्रसाद साह) र मिना कुमारी साह (पति–ई. यमुना प्रसाद साह) रहेका छन् । बुहारीहरूमा जेठी गायत्री प्रसाद साह, माईली रेणु प्रसाद साह र कान्छी आशा कुमारी साह रहेका छन् ।
साधारण लेखपढ गर्नुभएकी रामरती देवी मातृभाषा मैथिली र मगही धाराप्रवाह बोल्नुहुन्छ । कृषि तथा सानो व्यवसायलाई मुख्य पेशा बनाउँदै उहाँले गृहिणीको जिम्मेवारी निर्वाह गर्नुका साथै समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । विशेषगरी ग्राम सेवक कार्यक्रमअन्तर्गत चर्खाद्वारा धागो कात्ने सीप सिक्ने र अन्यलाई सिकाउने कार्यमा उहाँको योगदान उल्लेखनीय रह्यो ।

हाल शारीरिक अशक्तताका कारण उहाँ धार्मिक कार्य तथा पूजापाठमा समय व्यतित गर्दै घरमै बसोबास गर्नुहुन्छ । सक्रिय समाजसेवी जीवन बिताएकी उहाँ श्री धर्म संस्था (राम स्वरुप साह, राम सागर साह) की गुठियार सदस्य तथा श्री नेपाल रेडक्रसकी सदस्य समेत रहनु भएको छ ।
जनकपुरधामको सामाजिक इतिहासमा दानवीर रामस्वरुप रामसागर परिवारको योगदान उल्लेखनीय मानिन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा रामस्वरुप रामसागरले पु¥याएको योगदानको निरन्तरतामा रामरती देवी सुडीको परोपकारी भावनाले परिवारको सामाजिक पहिचान अझ सबल बनाएको स्थानीयहरू बताउँछन् ।
कृषिप्रधान जीवनशैली, श्रम, सेवा र धार्मिक विश्वासलाई आत्मसात् गर्दै शतायु जीवनको यात्रा तय गर्दै आउनुभएकी रामरती देवी सुडी आजको पुस्ताका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा उदाएकी छिन् ।



