जनकपुरधाम ८ कात्तिक । सूर्यदेवको आराधना र आत्मशुद्धिको प्रतीकका रूपमा मनाइने महान् पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म श्रद्धा, निष्ठा र कठोर साधनासहित मनाइने यो पर्व मिथिलाञ्चलदेखि सम्पूर्ण तराई–मधेशसम्म उल्लासपूर्वक प्रारम्भ भएको हो।
पहिलो दिन ‘नहाय–खाय’ को रूपमा आज ब्रतालुहरूले घरआँगन सफा गरी नदी, पोखरी वा कुण्डमा स्नान गरेर अरवा–अर्बाइन भोजन ग्रहण गर्दै पर्वको सुरुवात गरेका छन्। यस दिन शुद्धता, आत्मसंयम र भक्तिको प्रारम्भिक अभ्यास गरिन्छ।
भोलि आइतबार दोस्रो दिन ‘खरना’ मनाइनेछ। यो दिन साँझ सूर्यास्तपछि ब्रतालुहरूले चामल, दूध र सक्खर मिसाएर तयार पारिएको खीरलाई प्रसादका रूपमा ग्रहण गर्छन्। खरनाको विधिले ब्रतालुलाई ४८ घण्टासम्म अन्न–पानी त्यागी कठोर व्रतमा प्रवेश गराउँछ, जसले छठको साधनात्मक पक्षलाई झल्काउँछ।
तेस्रो दिन सोमबार छठको मुख्य दिनका रूपमा ‘सन्ध्या अघ्र्य’ दिइनेछ। अस्ताउँदो सूर्यलाई जलाशय किनारमा पूजा सामग्री, ढाकी, डगरी, माटाका कोसिया–कुरबार, हात्ती, ठकुवा, भुसुवा, केरा, उखु, तरकारी, मिठाई, अदुवा, हल्दी तथा विभिन्न फलफूलसहित अघ्र्य अर्पण गरिनेछ।
चौथो र अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई ‘प्रातः अघ्र्य’ दिइएपछि छठ पर्वको विधिवत् समापन हुनेछ। यसलाई ‘पारन’ भनिन्छ, जसपछि ब्रतालुले प्रसाद ग्रहण गरी पारिवारिक र सामाजिक रूपमा शुभकामना आदान–प्रदान गर्छन्।
यस पर्वमा सूर्यदेव र छठी माईको आराधनासँगै सन्तानको दीर्घायु, पारिवारिक सुख–समृद्धि र स्वास्थ्यको कामना गरिन्छ। श्रद्धा, आस्था र निष्ठाको संगम बनेको यो पर्व सामूहिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा पनि हेरिन्छ।
जनकपुरधामका गंगासागर, धनुषसागर, दशरथ ताल र अंगराजसर जस्ता ऐतिहासिक जलाशयहरू अहिले दीप, तोरण र बत्तीले सिंगारिँदै छन्। महिला–पुरुष, बालबालिका र वृद्धवृद्धा सबै श्रद्धा र उल्लासका साथ तयारीमा जुटेका छन्। बजारहरूमा बाँसका डगरी, माटाका भाँडा, ठकुवा, फलफूल, उखु र पूजा सामग्री खरिद गर्ने भीड लागेको छ।
मिथिलाञ्चलका गल्ली, घाट र बजारहरू अहिले छठ गीतका मधुर स्वरले गुन्जायमान छन्—
“केलवा जे पातर चढ़इबो ओ सारजु मइया…”
यसरी आस्था, संस्कृति र सौन्दर्यको अनुपम संगम बनेको छठले सम्पूर्ण जनकपुरलाई उज्यालो र भक्ति–भावनाले भरिएको छठमय वातावरणमा परिणत गरेको छ।

