जनकपुरधाम, १४ कात्तिक । लन्डन विश्वविद्यालयको स्कूल अफ ओरिएन्टल एण्ड अफ्रिकन स्टडीज (SOAS) का प्रख्यात प्राध्यापक माइकल जे. हट अहिले मधेश प्रदेशमा दलित समुदायका साहित्यकार, पत्रकार र कलाकारहरूसँग निरन्तर भेटघाट र संवादमा व्यस्त छन्। उहाँले मधेशी दलित समुदायको भाषा, संस्कृति, कला र साहित्यका विविध आयामबारे प्रत्यक्ष अध्ययन गरिरहेका छन्।
नेपाल र हिमालय अध्ययनका क्षेत्रमा तीन दशकभन्दा बढी समय समर्पण गरेका प्राध्यापक हटले दलित समुदायको साहित्यिक र सांस्कृतिक योगदानलाई गहिरो अध्ययनको दायरामा ल्याउने उद्देश्य राखेका छन्। उहाँका अनुसार, “मैले हिमाल र पहाडका दलित समुदायसँग भेटघाट गरी उनीहरूको भाषा, संस्कृति र कलाबारे बुझ्ने प्रयास गरेको छु। अहिले मधेशी दलित समुदायको भाषा, संस्कृति र साहित्यिक अवस्थाबारे बुझ्दैछु।”
यसै सन्दर्भमा उहाँले राष्ट्रिय दलित पत्रकार संघ नेपालका मधेश प्रदेश अध्यक्ष तथा साहित्यकार कैलास दाससँग जनकपुरधाममा भेटघाट गर्नुभयो। भेटका क्रममा प्राध्यापक हटले नेपाली दलित लेखकद्वारा लिखित कथा र कवितामा अभिव्यक्त दलित जनजीवनको यथार्थलाई अध्ययन र विश्लेषण गर्ने तयारी भइरहेको जानकारी दिए। उनले नेपाली समाजका सीमान्तकृत आवाजहरूलाई विश्व समुदायमा पुर्याउने उद्देश्य पनि व्यक्त गरे।
पत्रकार तथा साहित्यकार कैलास दासका अनुसार, प्राध्यापक हट अत्यन्त सरल स्वभावका र धाराप्रवाह नेपाली बोल्ने विदेशी विद्वान् हुन्। “उहाँलाई मधेशी दलित समुदायको साहित्यिक अभिव्यक्ति, भाषा र सांस्कृतिक अवस्थाबारे गहिरो रुचि छ। उहाँले समुदायका अगुवाहरू, लेखक तथा बुझ्ने व्यक्तिसँग भेटघाट गर्दै दलित जीवनका यथार्थ र सिर्जनालाई दस्तावेजीकरण गर्न लाग्नुभएको छ,” दासले बताए। उनका अनुसार, प्राध्यापक हटले यस अध्ययनका आधारमा मधेशी दलित साहित्य र जीवनमा केन्द्रित पुस्तक लेख्ने तयारी पनि गरेका छन्।
सन् २०२१ को अन्त्यतिर SOAS विश्वविद्यालयबाट प्रारम्भिक अवकाश लिएका प्राध्यापक हट नेपाली भाषा, साहित्य र संस्कृतिका गहिरा अध्येता हुन्। “नेपाली साहित्य मेरो गृहभूमि हो,” भन्ने उनको भनाइ प्रसिद्ध छ। उनले नेपाली सिकाउनका लागि लेखिएको लोकप्रिय पुस्तक Teach Yourself Nepali मार्फत नेपाली भाषा विश्वमा परिचित गराएका छन्। साथै, उनले नेपाली दलित लेखकहरूसँग सहकार्य गर्दै उनीहरूको साहित्यलाई अंग्रेजीमा अनुवाद गरी अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने कार्य पनि गर्दै आएका छन्।
उनको शैक्षिक योगदान क्षेत्रीय अध्ययनमा सीमित छैन। उनका विद्यार्थीहरू कानुन, जनस्वास्थ्य, सामाजिक मानवशास्त्र, राजनीति विज्ञान लगायतका विषयमा अनुसन्धान गर्दै दक्षिण एसियाली भाषा र संस्कृतिहरूसँग जोडिएका छन्। यसरी उनले बहु–विषयगत दृष्टिकोणबाट दक्षिण एसियाली अध्ययनको दायरा फराकिलो बनाएका छन्।
सन् १९८० दशकदेखि नेपालसँग सम्बन्ध राख्दै आएका हटले नेपाली साहित्यका दर्जनौँ पुस्तक र लेखहरूको अनुवाद, सम्पादन तथा समीक्षा गरेका छन्। उनका अनुसन्धानमा नेपाल, हिमालय र दक्षिण एसियाली समाजका सांस्कृतिक, भाषिक र ऐतिहासिक तहहरू गहिरो रूपमा प्रतिबिम्बित छन्।
जनकपुरधाममा प्राध्यापक हटको उपस्थितिले मधेशी दलित साहित्य र संस्कृति अध्ययनमा नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ।



