जनकपुरधाम, १ मंसिर । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलमाथि हाल सामाजिक सञ्जालमा गम्भीर आरोपसहित कठोर टिप्पणीहरू आएका छन्। फेसबुकमा केही सांसद तथा राजनीतिक व्यक्तिहरूले सभामुख मण्डलले पदको दुरुपयोग गर्दै प्रदेशसभा सचिवालयलाई पारिवारिक रोजगारी केन्द्रका रूपमा प्रयोग गरेको आरोप सार्वजनिक गरेका छन्।

राष्ट्रिय मुक्ती पार्टी नेपालका सचिव सञ्जय चौधरीले आफ्नो फेसबुक पेजमार्फत सभामुख मण्डलप्रति अपमानजनक शब्द प्रयोग गर्दै, “प्रदेश सभा परिवार भर्ती केन्द्र-सभामुख (एमाले) रामचन्द्र मण्डलले आफ्नै श्रीमती, छोरा, दुई छोरी र ज्वाइँलाई प्रदेशसभा सचिवालयमा करारमा नियुक्ति गरेका छन्,” भनेर टिप्पणी गरेका छन् ।
त्यसबाहेक मधेश प्रदेशसभा सदस्य ललिता दास ‘विद्रोही’ले पनि सभामुखमाथि प्रश्न उठाउँदै लेखेकी छन- “सभामुख मण्डलले पद र शक्तिको दुरुपयोग गर्दै पूरै सचिवालयलाई पारिवारिक रोजगारी केन्द्र बनाइदिएका छन् । नियुक्त गरिएका व्यक्तिहरूमध्ये धेरैजना कार्यालय नआइकनै घरमै बसेर तलब बुझिरहेको तथ्य झनै गम्भीर छ ।”

सांसद दासले सभामुख तथा सचिवालयको मासिक तलब र नियुक्ति विवरणको प्रमाणित प्रतिलिपि समेत सार्वजनिक गर्दै मण्डल परिवारका सदस्यहरू नियमित हाजिरी नदिइकनै लाखौँ रुपैयाँ तलब बुझ्दै आएको आरोप लगाएकी छन्। उनका अनुसार सभामुखकी श्रीमती, छोरा, दुवै छोरी र ज्वाइँ करारमा विभिन्न पदमा नियुक्त छन्, तर तीमध्ये कतिपय काठमाडौंमै बस्दै आएका छन्।
सचिवालयका केही कर्मचारीहरूका भनाइअनुसार सभामुखका परिवार सदस्यले कार्यालयमा उपस्थित नै नभए पनि तलब भुक्तानी नियमित रूपमा हुँदै आएको छ। जनताको करबाट सञ्चालन हुने संवैधानिक निकायमा यसरी काम नगर्ने तथा योग्यता नपुगेका व्यक्तिलाई ‘परिवारका मान्छे’ भएको भरमा नियुक्त गर्ने कार्य पदीय दुरुपयोग र नातावादको स्पष्ट उदाहरण भएको सरोकारवालाहरूको प्रतिक्रिया छ।
प्रशासनिक विश्लेषकहरू यो प्रकरणलाई गम्भीर चिन्ताको विषयका रूपमा लिँदै यसले प्रदेशसभाको नैतिकता, प्रशासनिक अनुशासन र आर्थिक पारदर्शिता सबै क्षेत्रमा ठूलो प्रश्न उठाएको बताएका छन्। एक विश्लेषकका शब्दमा, “सचिवालयजस्तो संवैधानिक संस्थामा हाजिरी नदिने कर्मचारी राख्नु केवल कुप्रथा मात्र होइन, शासन प्रणालीमै विश्वास कमजोर पार्ने काम हो।”
यस घटनापछि नागरिक समाज, अधिकारकर्मी र सर्वसाधारणले तत्काल निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। मधेश प्रदेशसभाले भने यस वारेमा अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

