जनकपुरधाम, २ मंसिर । धनुषामा क्रियाशील गैर-सरकारी संस्था जानकी महिला जागरण समाजले शैक्षिक पहुँच र महिला सशक्तिकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ८० जना छात्रालाई साइकल वितरण गरेको छ । साइकल वितरण कार्यक्रमले विद्यालय जाने बालिकाहरूलाई आवागमन सहज बनाउन, शिक्षामा निरन्तरता दिलाउन र उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने संस्थाको तर्क छ ।
गणेशमान चारनाथ नगरपालिका-७ स्थित जनता जयसवाल माध्यमिक विद्यालय, गोदारमा अध्ययनरत छात्राहरूलाई एक विशेष समारोहबीच साइकल हस्तान्तरण गरिएको जनाईएको छ । संस्थाका अनुसार यस पालिकामा आजको वितरणसहित हालसम्म १०५ वटा साइकल उपलब्ध गराइसकिएको छ, जसले विद्यालय जाने छात्राहरूको दैनिकीमा सकारात्मक परिवर्तन ल्याएको छ ।
‘जलवायु–मैत्री आर्थिक रूपान्तरणमार्फत महिला सशक्तिकरण’ भन्ने मूल नारासहित सञ्चालन हुँदै आएको व्यवसायजन्य सहयोग तथा समान वितरण कार्यक्रम अन्तर्गत साइकल हस्तान्तरण गरिएको हो । यस्तै परियोजनाअन्तर्गत समुदायमा आर्थिक क्रियाकलापलाई प्रोत्साहन गर्ने उद्देश्यले २५ जना महिला उद्यमीलाई २५ थान इलेक्ट्रिक तराजु पनि वितरण गरिएको संस्थाले जनाएको छ ।
यसअघि पनि यो संस्थाले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका दलित तथा सीमान्तकृत महिलालाई सिलाइ–कटाइ मेशिनसहित विभिन्न उद्यमशील सामग्री वितरण गर्दै आएको छ । संस्थाले दीर्घकालीन रूपमा महिलाको आर्थिक सक्षमता, आत्मनिर्भरता र जीवनस्तर उकास्ने लक्ष्यसहित आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

