जनकपुरधाम, ९ मंसिर। राम–जानकी विवाह महोत्सवमा सहभागी हुन आएका श्रद्धालुहरूलाई लक्षित गर्दै जनकपुरधाममा निःशुल्क भोजन तथा स्वास्थ्य जाँच सेवाको व्यापक व्यवस्था गरिएको छ।
भगवान् राम र माता सीताको पावन विवाहको स्मृतिमा प्रत्येक वर्ष भव्यतापूर्वक मनाइने विवाह महोत्सवका अवसरमा नेपाल, भारत तथा अन्य मुलुकबाट समेत श्रद्धालुहरूको ठूलो भीड जनकपुरधाम आइपुग्ने गर्दछ। यही भीडलाई सहज, सुरक्षित र सम्मानजनक सेवा उपलब्ध गराउन स्थानीय संघ–संस्थाहरूले विभिन्न चौक तथा धार्मिक स्थलहरूमा निःशुल्क भोजन तथा स्वास्थ्य शिविर संचालन गरेका छन्।

रेल्वे स्टेशन, भानुचौक, कदम चौक, पीडारी चौक, बसपार्क, जानकी मन्दिरबाटो, रंगभूमि मैदानलगायतका ठाउँमा सयौँको संख्यामा सेवा शिविर सञ्चालन भईरहेको छ।
यसै क्रममा नेपाल–भारत खुला सीमा संवाद, सिया मेडिकेयर, सशस्त्र प्रहरी बल, सुडी समाज, तेली समाज, कलवार समाजलगायतका संघ–संस्थाहरूले सोमबारदेखि नै स्वास्थ्य जाँच तथा भोजन व्यवस्थापनलाई निरन्तरता दिएका छन्।
जनकपुरधाम धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएकाले यहाँ आउने पाहुनाहरूलाई सत्कार गर्नु नै हाम्रो प्राचीन संस्कार भएको अध्यक्ष राजीव झाले बताए। उनका अनुसार, सेवा–सत्कारको यो परम्परालाई जगेर्ना गर्न विभिन्न संघ–संस्थाहरूले निःशुल्क सहयोग शिविर सञ्चालन गर्दै आएका छन्।


