जनकपुरधाम, ११ मंसिर । मंगलवार सम्पन्न भगवान् राम र भगवती सीताको पौराणिक विवाहको अवसरमा आयोजित विवाह पञ्चमी महोत्सव हेर्न तथा मेला भर्न भारतका विभिन्न राज्यबाट जनकपुरधाम भित्रिएका एक लाखभन्दा बढी भारतीय पर्यटकले महोत्सवको अवलोकन गरेका छन्। धनुषाको जटही नाका र महोत्तरीको भिठामोड नाकामार्फत पर्यटकहरूको अत्यधिक भीड देखिएको हो।
धनुषाको जटही नाकाबाट मात्रै मंगलवार १ हजार ३४० भारतीय सवारी(जीप, कार, बस तथा मोटरसाइकल(जनकपुरधाम प्रवेश गरेका छन्। यी सवारी साधनबाट ४ लाख ३२ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार केवाले जानकारी दिए।
त्यसैगरी सोही दिन महोत्तरीको भिठामोड नाकाबाट ८ सय ५३ सवारी साधन जनकपुरधाम प्रवेश गरेका छन्। ती सवारी साधनबाट ५२ लाख ३ हजार २ सय ७१ रुपैयाँ राजस्व संकलन भएको त्यहाँका कर्मचारी बोधराज काफ्लेले बताए।
विवाह महोत्सव अवलोकन गर्न भारतका बिहार, उत्तर प्रदेश, पञ्जाब, दिल्ली, हरियाणा लगायत विभिन्न राज्यबाट ठूलो संख्यामा पर्यटकहरु भित्रिँदा जनकपुरको व्यापार(व्यवसाय अत्यधिक चलायमान बनेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए।
त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र माता सीताको दिव्य विवाह सम्पन्न भएको स्मरणार्थ प्रतिवर्ष मिथिलाको जनकपुरधाममा धूमधामपूर्वक विवाह पञ्चमी मनाउने परम्परा रहिआएको छ।
विवाह महोत्सव अन्तर्गत पहिलो दिन ‘नगर दर्शन’, दोस्रो दिन ‘फुलबारी लीला’, तेस्रो दिन ‘धनुष यज्ञ’, चौथो दिन ‘तिलकोत्सव’ तथा पाँचौँ दिन ‘जानकीको मटकोर विधि’ सम्पन्न भइसकेका छन्।विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा प्रदान गरेको छ, जसले जनकपुरधाममा धार्मिक पर्यटनको चहलपहल झनै बढाएको छ ।

