जनकपुरधाम, १३ मंसिर । दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायहरूको परिसंघ (डोटिम)को धनुषा भेला शनिवार हुन लागेको छ ।
मधेश प्रदेशमा बसोबास गर्ने दलित, पिछडावर्ग, थारु, आदिवासी तथा विभिन्न अल्पसंख्यक समुदायहरूको उत्थान, अधिकार सुनिश्चितता तथा राजनीतिमा पहुँच विस्तार गर्ने उद्देश्यले यस परिसंघको गठन गरिएको जनाइएको छ ।
परिसंघले दलित, पिछडावर्ग, थारु, आदिवासी, मुस्लिम, यौनिक तथा महिला अल्पसंख्यक समुदायमाथि कायम रहेका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता तथा विभेद अन्त्यका लागि संगठित रूपमा संघर्ष गर्ने बताइएको छ । साथै उत्पीडित समुदायको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याको आधारमा प्रतिनिधित्व, मानवअधिकारको प्रत्याभूति, शिक्षा–स्वास्थ्यमा समान पहुँच, रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता परिसंघको मूल एजेन्डा रहेको उल्लेख गरिएको छ ।
जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवको परिकल्पनामा यो परिसंघ गठन गरिएको जानकारी केन्द्रिय संयोजक चन्देश्वर पासमानले दिएका छन् ।
उनका अनुसार, “यी समुदायहरू संख्यात्मक रूपमा सबैभन्दा बढी भए पनि राजनीतिक र संवैधानिक अधिकारमा पछि पारिएको छ । शिक्षा, स्वास्थ्य, रोजगारीमा पर्याप्त पहुँच छैन । अब आफ्नो अधिकार आफैं लिएर आउनुपर्नेछ, त्यसका लागि हामी संघर्षमा उत्रिनेछौं,” उहाँले भन्नुभयो ।
परिसंघको बृहत् धनुषा जिल्ला भेला तथा “समानता र सामाजिक न्यायको अधिकार” विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधामको पिरारीचौकस्थित राम–जानकी पार्टी प्यालेसमा आयोजना गरिएको छ । कार्यक्रममा सहभागी हुन सबै सरोकारवाला पक्षलाई आग्रह गरिएको छ ।



