जनकपुरधाम, १३ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायहरूको परिसंघ (डोटिम) संघर्ष र आन्दोलनमार्फत अधिकार सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको बताएका छन्।

शनिबार जनकपुरधाममा आयोजित डोटिम धनुषा भेला तथा वृहत अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले देशको दुई(तिहाइ जनसंख्या रहने यी समुदायहरूलाई सरकारी सेवाबाट वञ्चित गरिएको, सामाजिक, धार्मिक तथा राजनीतिक रूपमा बहिष्करणमा पारिएकाले डोटिम गठन आवश्यक भएको बताए ।
डोटिमको परिकल्पनाकार समेत रहेका अध्यक्ष यादवका अनुसार यी समुदायहरू शोषण र दमन भोग्दै, अपेक्षित अधिकार प्राप्त गर्न नसकी कठिन जीवन बिताइरहेका छन्। यसका मुख्य कारण अशिक्षा, बेरोजगारी, राज्य संयन्त्रमा पहुँच नहुनु तथा राजनीतिक रूपमा निरन्तर उपेक्षा गरिएको हो। उनले भने, “शासन, प्रशासन र राज्यका हरेक निकायमा डोटिम समुदायको प्रतिनिधित्व आवश्यक छ। राज्य आफैंले अधिकार दिने अवस्थामा छैन, त्यसैले अधिकारका लागि संघर्ष र आन्दोलन नै विकल्प हो।”

डोटिमका केन्द्रीय संयोजक चन्देश्वर पासमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष यादवले डोटिम परिसंघलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै भने, “तपाईंहरूको अधिकार कसैले खोस्न सक्दैन। कहिलेसम्म बहिष्करण सहने?”
उनले दुई(तिहाइ जनसंख्या समेट्ने समुदाय समृद्ध नभएसम्म देश पनि समृद्ध र सम्पन्न नहुने प्रष्ट पारे। दलित तथा महिलाहरू अहिले पनि न्यायमा पहुँच नपाइरहेको र विभिन्न प्रकारका हिंसाका घटनामा परिरहेको उल्लेख गर्दै उनले सामाजिक लोकतन्त्रका लागि संघर्ष अपरिहार्य रहेको बताए।
कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, पूर्व सांसद चमेलीदेवी दास, दलित अगुवा चन्देश्वर सादा, जसपा नेपाल प्रदेश अध्यक्ष रामबाबु यादव, जिल्ला अध्यक्ष पशुपति यादव लगायतका वक्ताहरूले सहमति व्यक्त गरेका थिए।
डोटिम धनुषाको संयोजकमा पासमान

दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायहरूको परिसंघ (डोटिम) धनुषाको संयोजकमा सर्वसम्मतिले रामशंकर पासमान चयन भएका छन्।
शनिबार सम्पन्न धनुषा जिल्ला भेलाले ३१ सदस्यीय तदर्थ कार्य समिति गठन गरेको हो। समिति सदस्यहरूमा रमेश अधिकारी केवट, शेख अहमद हुसेन, विजय पासमान, रुपी सदा, अनवारुल, रेखा महरा, अरमान, जितेन्द्र साफी, जयप्रकाश सदा, रामदयाल माझी, छोटु सदा रहेका छन्।
त्यसैगरी मनिचन सदा, वितनी महरा, मोहम्मद जयशेद साफी, रामशंकर मण्डल, वीरेन्द्र महतो, मिनाक्षी पाण्डे, रिना चौधरी, राजकुमार महासेठ, परमेश्वर कापडी, हिराकुमार दास, प्रमोद महरा लगायतका सदस्यहरू समावेश छन्।
तदर्थ समितिका पदाधिकारीहरूलाई पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले टिका लगाई बधाई तथा शुभकामना दिएका छन्।

